वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर २ ले वडामा आज शुक्रबार बाट राष्ट्रिय गानबाट आफनो नियमित सेवा शुभारम्भ गरेको छ ।
कपिलवस्तुका ९६ वटा वडामध्येबाट बाणगंगाको वडा नम्बर २ ले बिहान ठिक १० बजे राष्ट्रीय गानमा सरिक भई सो पछि नियमित सेवा दिन लागेको हो । यसरी सेवा प्रवाह गर्ने बाणगंगा २ कपिलवस्तुको पहिलो वडा समेत बनेको छ ।
सो अवसरमा बोल्दै नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर २ का अध्यक्ष बिष्णु प्रसाद पौडेलले जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीलाई राष्ट्रप्रति र आफनो जिम्मेवारी बहन गर्न टेवा पुगोस् भन्नका लागी राष्ट्रीय गानबाट नियमित सेवा शुभारम्भ गर्न लागीएको बताए ।
यसैबिच वडाले माघी पर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको पनि एकसाथ आयोजना गरेको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले नेपाल सानो देश भएर पनि यत्तीका जातजातीमा एकले अर्काको अस्तीत्व स्वीकार गर्नु खुशीको कुरा रहेको बताए । यसरी एक जातीले अर्को जातीको पर्वको सम्मान गर्नु, आफै पनि सरिक हुनु उदारणीय कुरा रहेको बताउदै अर्यालले यो सम्बन्धलाई टिकाई राख्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
त्यस्तै बाणगंगा नगरपालिकाकी उप-प्रमुख रिता चौधरीले माघी पर्व अहिले आएर सबैको साझा पर्वका रुपमा बिकास भई सकेको बताउदै यस पर्वले आपसि सम्बन्ध प्रगाढ हुने बिश्वास ब्यक्त गरिन ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले नेपालका माघी तथा यस्ता पर्वले बिश्वमै नेपाललाई चिनाएको बताउदैँ यसको संरक्षणमा पनि ध्यान दिनु पर्नेमा उनको जोड थियो । कार्यक्रममा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सामुदायिक बनका अध्यक्ष, टोल बिकास समिति पदाधिकारी, महिला स्वयमसेविका लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बिखम बहादुर जिसिको सञ्चालनमा भएको थियो ।








