डा. थापा बुबा पदम बहादुर बुचा र आमा सुर्य कुमारी बुचाका एकमात्र छोरा थिए । शव बुझेपछि दाहसंस्कारका लागि तिलोत्तमामै ल्याउने तयारी रहेको आफन्तले बताएका छन् । सैनामैना–५ घर भएकी सिर्जना भने बुटवलमै एयर होस्टेस तालिम लिएपछि २०७२ सालदेखि यती एयरलाइन्समा काम गर्दै थिइन् । परिवारमा बुबा, आमा, दुई वटा दाइ र भाउजू र एउटा भाइ रहेकी सिर्जना परिवारकी एक्ली छोरी हुन् ।
उनले सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमीबाट विद्यालय पढेपछि बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट स्नातक गरेकी मामा एक बहादुरले रातोपाटीलाई बताए । २९ वर्षीय सिर्जना दसैँपछि भाइको उपचारका लागि रुपन्देही आएर केही हप्ता बसेकी थिइन् । भाइलाई भैरहवा मेडिकल कलेजमा उपचार गराएर उनी काठमाडौं फर्किएकी थिइन् ।
उनका बुबा भारतीय सेनाबाट अवकास प्राप्त भइसकेका छन् । शनिबार बेलुका मात्र सिर्जनाले परिवारका सबै सदस्यसँग भिडियोमा कुरा गरेकी थिइन् । भिडियो कलमा भोलिपल्ट आफ्नो पोखरा फ्लाइट रहेको उनले बताएकी थिइन् ।
विमान दुर्घटनामा मृत्यु भएकी सिर्जनाको सनाखत पोखरामै रहेका आफन्तले गरेका छन् । उताबाट खबर आएपछि आफूहरू अहिले काठमाडौं जाँदै गरेको मामा एक बहादुरले बताए ।