बाँके ।
बाँकेमा गत पुस १२ गतेदेखि फैलिएको दादुरा संक्रमण झन्डै एक महिनापछि नियन्त्रणमा आएको छ ।
समयमै उपचार र दादुरा रुबेलाविरुद्धको तीव्र खोप अभियानपछि संक्रमण नियन्त्रणमा आएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुरपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए ।
दादुरा संक्रमण फैलिएपछि स्वास्थ्य कार्यालयले ६ महिनादेखि १५ वर्षमुनिका ८९ हजार ४५८ बालबालिकालाई लक्षित गरी दादुरा रुबेलाविरुद्दको खोप अभियान सञ्चालन गर्दै आएको छ । जसमध्ये शनिबारसम्म ७२ हजार ९३९ जनाले खोप लगाएको तथ्याङ्क छ ।
जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकामा गरी माघ ७ गतेसम्म २६० जना बालबालिका संक्रमित भएका छन् ।
तीमध्ये सबैभन्दा धेरै नेपालगञ्जका २०३ जना बालिबालिका दादुरा प्रभावित भएका छन् । नेपालगञ्जमा दादुरा संक्रमणका कारण यसवर्ष ३१ महिने बालकको मृत्यु भएको थियो ।








