सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिका वडा नम्बर ४ मा रहेर परम्परागत रुपमा पञ्चेबाजा बजाउँदै आएका समुदायलाई पञ्चेबाजाको सेट वितरण गरिएको छ ।वडा कार्यालयले विहिबार एक कार्यक्रम आयोजना गरि पञ्चेबाजा बजाउने समुदायलाई एक सेट पञ्चेबाजा वितरण गरेको हो ।
बाजा बजाउने समुदायको उत्थानका लागि आर्थिक वर्ष २०७९/०८० मा विनियोजन गरिएको एक लाख बजेटबाट बञ्चेबाजाको सेट प्रदान गरिएको वडाध्यक्ष छविरेस्मी मगरले वैखरीलाई जानकारी दिए ।

उनीहरुलाई नसिंङ्गा, सनाई, दमाहा, ट्याम्कु लगायतको सेट प्रदान गरिएको हो । लोपोन्मुख बनेको पञ्चेबाजाको संरक्षण गर्दै दलित समुदायको व्यवसायिकता विकासका लागि वडा कार्यालयले पञ्चेबाजा प्रदान गरेको वडाध्यक्ष रेस्मीले बताए । बिहे, ब्रतबन्ध, उत्सव लगायतका बेलामा बजाइने पञ्चेबाजा पछिल्लो समय लोपोन्मुख बनेकाले वडाले नै खरिद गरेर पञ्चेबाजा प्रदान गरेको उनले बताए ।

पञ्चेबाजा बजाउँदै आएका उनीहरुलाई पोसाक समेत प्रदान गरिएको छ । उनीहरुलाई टोपी, सट, कोट, पाईन्ट, जुत्ता प्रदान गरिएको हो ।
‘पश्चिमी संस्कृतिको प्रभावले हरेक समुदायका मौलिकता जोगाउन अहिले चुनौती छ,’ उनले भने, ‘यस्तो समयमा वडाले गरेको यो प्रयासले सकारात्मक सन्देश जानेमा म विश्वस्त छु ।’
वडाले एक सेट पञ्चेबाजासहित पोसाक प्रदान गरेपछि शुभ कार्यमा पञ्चेबाजा बजाउँदै आएका उनीहरुले खुशी व्यक्त गरेका छन् । वडाको यस्तो उदाहरणीय कार्यले पञ्चेबाजा बजाउने आफुहरुको पेसालाई थप निरन्तरता दिन उत्साह थपेको उनीहरुको भनाई छ ।
वडाले पञ्चेबाजा वितरण गरेपछि वडा परिसरमा एक घण्टा नाचगान समेत गरिएको थियो । उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको वडा सचिव कृष्णप्रसाद खनालले जानकारी दिए ।







