रुपन्देही ।
रुपन्देहीको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि उत्साहित बन्दै लगानी गरेको व्यवसायीहरू पछिल्ला दिनहरूमा निराश बनेका छन् ।
खास गरी पर्यटन व्यवसायीहरू उत्साहित हुँदै होटेलमा करोडौँ लगानी गरे पनि अहिले खराब मौसम (हुस्सु)को कारण देखाउँदै गौतम बुद्ध विमानस्थलबाट गत पुस ६ (२१ डिसेम्बर) देखि अन्तर्राष्ट्रिय उडान ठप्प छ ।
सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले करोडौँ लगानी गरेका होटेल व्यवसायीहरु अहिले विमानस्थल नचल्दा ठुलो समस्यामा परेको बताए ।
उनले अझै बन्दै गरेका गरेका होटलहरु बीचमै निर्माण रोक्ने अवस्थामा पुगेको पनि बताए । पछिल्ला वर्ष अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर विस्तार भएका नान्स होटेल, निर्माणा होटेल, टाइगर रिसोर्ट जस्ता होटल समस्याग्रस्त रहेका छन् ।
एक त अन्तर्राष्ट्रिय विमानस्थल जुन उद्देश्यले निमार्ण थालिएको थियो, त्यसअनुसार सरकारले चलाउन सकेन । अझै पछिल्ला दिनहरूमा विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्याण्ड सिस्टम (आइएलएस) जडान भए पनि यसबारे पनि भारतसँग लिखित सहमति नहुँदा अन्तर्राष्ट्रिय उडानमा समस्या देखिएको हो ।
अहिले हुस्सुलाई कारण देखाएर जजिरा एयरलाइन्स, हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान रोकेका छन् । त्यसको सिधै असर पर्यटन व्यवसायीलाई परेको नाटा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीले बताए ।
अन्तर्राष्ट्रिय विमान पूर्ण रूपमा नचल्दा लुम्बिनीमा पनि पर्यटकहरू अपेक्षा गरे अनुसार आउन नसकेको लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले बताए । उनका अनुसार गौतम बुद्ध विमानस्थल निर्माण गर्दा बुद्धटिष्ट देशमा धेरै विमान उडान गर्ने सोचले जापान, म्यानमार, चीन लगायतका देशलाई लक्षित गरियो । तर, सोचअनुसार काम नहुँदा लुम्बिनी पर्यटक नआउनु स्वाभाविक छ ।
सिद्धार्थ नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानेले सरकारले सुरुमा निमार्णदेखि भारतसँग कूटनीतिक रूपमा विमानस्थल चलाउने विषयमा छलफल गरेर अगाडि बढ्नु पर्नेमा निर्माण सम्पन्न भएपछि पनि कम चासो दिएको बताए ।
भारतसँग सरकारी तहबाट (जीटुजी) वार्ता गरेर हवाई रुटको लिखित सहमति लिन ढिलाइ गर्न नहुने उनको माग छ । उनले विदेशी एयरलाइन्सले बन्द गरे पनि राष्ट्र र विमानस्थलको शाख जोगाउन नेपाल एयरलाइन्सले उडान नियमित गर्नुपर्नेमा ध्यान नजाँदा समस्या आएको बताए ।








