सागर वि.क., वैखरी अनलाईन ।
राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुले चार जना पत्रकारलाई नगदसहित सम्मान गर्ने भएको छ । संघको शनिबार गोरुसिंगेमा बसेको बैठकले चार जना पत्रकारलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।
बिसे नगर्ची पत्रकारिता पुरस्कारबाट राम बहादुर गन्धर्व, उदयमान पत्रकारिता पुरस्कारबाट दिपिका सुनार र समावेशी पत्रकारिता पुरस्कारबाट खगप्रसाद चापागाई र शनिउल्लाह धोवी सम्मानित हुने भएका हुन् । यस्तै बिधागत पत्रकारिता सम्मान राम प्रकट कोरीलाई प्रदान गरिने छ ।
पत्रकारिता पेशाप्रति थप जिम्मेवार बनाउँदै दलितका मुद्धालाई सशक्त रुपमा उठाउन हौसला प्रदान गर्ने उद्देश्यका साथ सम्मान गर्न लागिएको अध्यक्ष कृष्ण हरिजनले बताए । उनका अनुसार राजनितिक, सामाजिक कला, साहित्य तथा खेलकुदको क्षेत्रमा अघि बढेका दलित समुदायका व्यक्तिहरुलाई समेत सम्मान गरिने छ ।
उनीहरुलाई आगामी फागुन १३ गते हुने राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको दोस्रो अधिवेशनमा सम्मान गरिने अध्यक्ष हरिजनले बताए । उक्त अधिवेशन पत्रकार महासंघ कपिलवस्तुको भवन तौलिहवामा हुने छ । बैठकले अधिवेशन सम्पन्न गर्न शम्भु वि.क.को संयोजकत्वमा मूल आयोजक समिति र आर्थिक समिति गठन गरेको छ । जसमा सबै दलित पत्रकार सदस्य रहने छन् ।
यस्तै सोही बैठकले मूल आयोजक समितिको बैठक यही माघ २७ गते बस्ने समेत निर्णय गरेको छ । राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष चिन्ता परियारले अधिवेशनलाई भव्य रुपमा सफल बनाउने गरि लाग्न निर्देशन दिए ।
उनले दलित समुदायको हक, अधिकारको सुनिश्चित गर्न दलित पत्रकारहरुको महत्वपुर्ण भूमिका हुने भएकाले सोही अनुसार कलम चलाउन आवश्यक रहेको बताए ।