सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुमा हात्तिपाईले रोग विरुद्धको आम औषधी सेवन अभियान आगामी फागुन ११ गतेदेखि सुरु हुदैछ । उक्त अभियान २५ गतेसम्म चल्ने छ । जिल्लामा रहेका १० पालिकाका ६ लाख ४२ हजार जनसंख्यालाई हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका स्वास्थ्य निरिक्षक उमेश घिमिरेले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार तौलिहवामा गरेको पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । लगातार २ बर्षसम्म खानुपर्ने जनसंख्याको ८० प्रतिशत भन्दा बढीले औषधी खाएमा मात्र जिल्ला हात्तिपाईले रोग मुक्त हुने उनको भनाई छ ।
महाराजगंज र कृष्णनगर नगरपालिकामा बृह्त रुपमा अभियान उद्घाटन कार्यक्रम गर्ने तयारी रहेको उनले बताए । उनले यस पटक कपिलवस्तुलाई हात्तिपाईले रोग मुक्त जिल्ला बनाउन कुनै कसर बाँकी राख्ने उद्घोष समेत गरे ।
उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले हात्तिपाईले रोग विरुद्धको आम औषधी सेवन अभियानलाई सफल बनाउनु सबैको दायित्व भएको बताए ।
कपिलवस्तु हालसम्म पनि हात्तिपाईले रोग मुक्त जिल्ला घोषणा नहुनु लाजमर्दो विषय भएको उनको भनाई छ । उनले पत्ररिकारिता क्षेत्रबाट पत्रकार प्रतिवद्ध भएर लाग्ने जिकीर गरे ।
यस अभियानको महत्व सर्वसाधारणलाई सकारात्मक तवरबाट बुझाउन सके मात्र अभियान सफल हुने उनले बताए ।
यता बाणगंगा नगरपालिकामा उक्त अभियान सफल पार्न ६० जान स्वास्थ्यकर्मी र ११२ जना स्वास्थ्य स्वयंसेवीका खटिने बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । नगर प्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा अभियान संचालन हुने उनले जानकारी दिए । ७२ हजारलाई हात्तिपाईले विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको उनले बताए ।







