गृहपृष्ठ कपिलवस्तु बिशेष जगदीशपुर ताल देखियो मनमोहक

जगदीशपुर ताल देखियो मनमोहक

प्रकाशित मिति:

मनोज पौडेल, कपिलवस्तु ।

पंक्षी आरक्ष जगदीशपुर ताल चराले मनमोहक देखिएको छ । तालमा चराको जलक्रिया, आहारविहार र चिरविराहटले यहाँ आउने पर्यटक रोमाञ्चित हुने गरेका छन् । मुलुकमै सबैभन्दा बढी पानी चराको आश्रयस्थल जगदीशपुर तालमा तीन वर्षदेखि निरन्तर पानी चरा भने घट्दै गएका छन् ।

सन् २०२२ को तुलनामा २०२३ मा ४ प्रतिशत चरा घटेका छन् । २०२१ को तुलनामा २०२२ मा २३ प्रतिशत चरा घटेका थिए । २०२३ मा ९ हजार ४८७ चरा गणना गरिएको छ । २०२२ मा ९ हजार ८ सय ३७ चरा गणना गरिएको थियो । २०२१ मा यहाँ १२ हजार ६३ चरा गणना गरिएको थियो । २०२० मा यहाँ २० हजार ८ सय ७ चरा गणना गरियो । २०१९ मा १४ हजार ९ सय ८० गणना गरिएको थियो ।

वेटल्यान्ड ईन्टरनेसनलको संयोजनमा नेपालमा सम्पन्न पानी चरा गणना राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा. हेमसागर बराल नेतृत्वमा रहेको चराविद्‌त्रय टिका गिरी, डिबी चौधरी र धीरज चौधरीले चरा गणना गरेका थिए ।

१ सय ५७ हेक्टरको तालमा यस वर्ष ४४ प्रजातिको चरा गणना गरियो । तालमा सबैभन्दा धेरै ४ हजार बढी मरुल छन् । त्यसपछि सुनजुरे हास एक हजार ९३० र विजुलागैरी ९ सय ३० वटा छन् । सिलसिले, सानो जलेवा र ठूलो जलेवा पनि छन् । श्वेताँखीभौं, नादुन र कैलो टाउके हाँस पनि छन् । त्यस्तै सुईरोपुच्छ्रे, चखेवाचखेवी, बेल्चा ठुँडे, हरिहाँस, बगाले सिमकुखुरा, सुईरोठूडे, मालक र हरियो टाउके हाँसलगायत पनि गणना गरिएको थियो ।

कपिलवस्तु नगरपालिका ९ र १० मा पर्ने ताल सन् २००३ मा विश्व सीमसार क्षेत्रमा सूचीकृत भएको थियो । जैविक विविधता, सीमसार र चराका कारण महत्वपूर्ण हुँदा स्विट्जरल्यान्डस्थित रामसार सचिवालयले सूचीकृत गरेको थियो । कृत्रिम रुपमा बनेको मुलुकको सबैभन्दा ठूलो ताल हो । यो मुलुकको दोस्रो पंक्षी आरक्ष हो ।

सम्बन्धित् समाचार