सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तु उद्योग बाणिज्य संघको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम सोमबार बाणगंगा ४ स्थित बुद्धरंशालामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु प्रसाद पन्थीले निजी क्षेत्रको विकासविना अन्य क्षेत्रको विकास सम्भव नभएको बताए । उनले लुम्बिनी प्रदेश सरकार निजी क्षेत्रीमैत्री हुने दिशातर्फ अघि बढ्ने आश्वासन दिए । राष्ट्रिय पुँजीको जति विकास गर्न सके त्यति नै मूलुकको अर्थव्यवस्था सुदृढ र दिगो हुने उनको भनाई छ । कुल गार्हस्थ उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपुर्ण रहेको बताउँदै उनले भने, ‘ निजी क्षेत्रलाई मजबुत बनाउन स्थानीय सरकारदेखि संघीय सरकारले हातेमालो गर्दै अघि बढ्न जरुरी छ ।’
उद्योगी व्यवसायीको पिर मर्का प्रदेश सरकारले गम्भिरताका साथ लिने उनले प्रतिवद्धता जनाए ।
स्वास्थ्यमन्त्री पन्थीले कपिलवस्तुको चन्द्रौटामा निर्माण हुने प्रदेश स्तरको लुम्बिनी प्रादेशिक सरुवा रोग अस्पताललाई शिघ्र संचालन गर्ने पहिलो निर्णयका रुपमा गरेको जानकारी दिए । जिल्लाको बहादुरगंज अस्पताल, पिपरा अस्पताल र कपिलवस्तु सामुदायिक अस्पतालको स्तर वृद्धि र विकास आफ्नो पहिलो प्राथमिकता रहने उनले बताए ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले मूलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा निजी क्षेत्री रहेको बताए । बाणगंगाको विकासमा उद्योग बाणिज्य संघले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउँदै उनले भने, ‘यस क्षेत्रको विकासको लागी पर्यटन क्षेत्रको विकास हुनु अपरिहार्य छ । यसर्थ पनि कपिलवस्तु उद्योग बाणिज्य संघले पर्यटन प्रवद्र्धन र विकासमा सहयोग गर्न महोत्सव लगायतका कार्यक्रम गर्दै आएको छ ।’
संघले व्यवसायी हित कोष संचालन गरि राहत दिने कार्यको सुरुवात भएको उनले बताए । कोरोनाको महामारीपछि उद्योगी व्यवसायीलाई परेको असरप्रति बैंक तथा वित्तिय संस्थाहरु अबुझ बनेको स्मरण गर्दै अध्यक्ष घिमिरेले त्यस विरुद्ध विभिन्न चरणमा अन्दोलन गरेको बताए । अर्थतन्त्रमा महत्वपुर्ण योगदान गरि लाखौंलाई रोजगारी दिईरहेका उद्योगी व्यवसायीका मूलभुत समस्याप्रति सरकार गम्भिर हुनुपर्ने उनको माग छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छविलाल रेस्मी मगरले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा महासचिव मनोज पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा उनले आगामी बर्ष २०७९/८० का निति तथा कार्यक्रमहरु प्रस्तुत गरे ।
यस्तै लेखा समिति संयोजक मोहन न्यौपानेले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष विनोद पन्तले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष यज्ञ प्रसाद भट्टराई, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाई लगायतले आआफ्नो भनाई राखेका थिए ।








