गृहपृष्ठ Featured भैरहवाको सिद्धार्थनगर सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै

भैरहवाको सिद्धार्थनगर सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै

भैरहवा । 

सामुदायिक (छाडा) कुकुरहरूका कारण समस्या बढेपछि सिद्धार्थनगर नगरपालिकाले शिविर सञ्चालन गरी सामुदायिक कुकुरहरूको बन्ध्याकरण थालेको छ।

नगरपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सहकार्य र हिमालयन एनिमल रेस्क्यू ट्रष्ट संस्थाको प्राविधिक सहयोगमा मंगलबारदेखि तीन दिने शिविर सञ्चालन गरी सामुदायिक कुकुरहरूको बन्ध्याकरण थालेको हो।

सामुदायिक कुकुरहरूको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए।

उनले शिविरमा खटिएको विज्ञ सहितको टोलीले नगरको टोल–टोलमा पुगेर कुकुरहरूलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याई बन्ध्याकरण लगायत उपचार गरे पश्चात नियन्त्रण लिइएको स्थानमै छाड्ने गरेको बताए।

उनले यस शिविरले सामुदायिक कुकुरहरूको संख्यामा कमी र रेबिजको प्रकोप न्यूनीकरण हुनेमा विश्वास लिइएको बताए। तर, खुल्ला सिमाना भएकाले भारत र अन्य पालिकाबाट पनि सामुदायिक कुकुरहरू आउने गरेको कारण समस्या रहेको बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले तीन दिनको शिविरमा एक सय ५० देखि दुई सय सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको बताए।

उनका अनुसार मंगलबार ५० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ। यसका साथै शिविरमा सामुदायिक कुकुरहरूलाई रेबिज विरुद्ध खोप समेत लगाउने गरिएको छ।

सम्बन्धित् समाचार