गृहपृष्ठ कपिलवस्तु बिशेष मकैको खोस्टाबाट हस्तकलाका सामग्री

मकैको खोस्टाबाट हस्तकलाका सामग्री

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगामा मकैको खोस्टा (पोस्कर) बाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गर्ने ३० दिने सिपमुलक तालिम सम्पन्न भएको छ । उक्त तालिम ओम राजश्री मल्टी एग्रो प्रा.लि.को आयोजना तथा नगरपालिकाको सहयोगमा वडा नम्बर २ को कार्यालय पिपरामा सम्पन्न भएको हो ।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले तालिमबाट प्राप्त सिपलाई उद्यमसंग जोडनुपर्ने बताए । तालिमका सहभागिहरुमा आफुले केही गर्छु भने उत्साह देखेको बताउँदै उनले भने, ‘यसले मलाई खुशीको अनुभूति दिलाएको छ । प्राप्त ज्ञान, सिपबाट उद्यमी बन्नुहुने छ भन्नेमा विश्वस्त छु ।’

उत्पादित सामग्री विक्रि, वितरण नभएमा उद्यमीमा नैरश्यता छाउने गरेको उनले बताए । यस्तो अवस्थामा तालिमको आयोजक ओम राजश्री मल्टी एग्रो प्रा.लि.ले खरिद गर्ने जिम्मा लिएकाले उत्साहित भई लागेर आर्थिक आयआर्जन गर्न उनले सहभागिलाई आग्रह गरे ।
सामग्री उत्पादन गर्न आवश्यक कच्चा पदार्थ मकैको खोस्टा गाउँघरमै सर्वसुलभ रुपमा पाईने बताउँदै उनले भने, ‘यसले मकै खेतीलाई समेत प्रोत्साहन गर्दछ । कृषिलाई प्रवद्र्धन गर्ने छ ।’

नगरपालिकाले बार्षिक पाँच सय जनालाई विभिन्न किसिमका तालिम दिने गरेको उनले बताए ।

उपप्रमुख रिता कुमारी चौधरीले तालिम लिएपछि उपलब्धि नभए बालुवामा पानी हाले जस्तै हुने टिप्पणी गरिन् । ३० दिनको अवधिमा प्राप्त ज्ञानले सहभागि महिलाहरु उद्यमी व्यवसायी बन्नतर्फ आग्रसर हुने विश्वास व्यक्त गर्दै उनले भनिन्, ‘आफ्नो खाली समय सदुपयोग गर्दै लगनशील भएर लाग्नहोला । आगामी दिनमा आवश्यक परे थप तालिम पनि संचालन गर्ने छौ ।’

बाणगंगा २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले वडा नम्बर २ का महिलाहरुले गरेको मेहनतले समग्र नगरपालिकाको पहिचान दिन सक्ने गरि लाग्न आग्रह गरे । वडा तथा नगरपालिकामा आउने अतिथिलाई यस क्षेत्रमा उत्पादित हस्तकलाका विभिन्न सामग्री मायाको चिनो स्वरुप दिन सक्ने वातावरणको सिर्जना गर्नुपर्नेमा वडाध्यक्ष पौडेलले जोड दिए । तालिम अवधिमा नै कोही सहभागि पनि ज्ञान सिपमा पुर्ण नहुने भएकाले यसलाई निरन्तरता दिदै जानुपर्ने उनको भनाई छ ।

आगामी दिनमा आवश्यक परे बजार प्रवद्र्धन, कच्चा पदार्थ जुटाई दिने जस्ता कार्य गर्न वडा प्रतिवद्ध रहेको उनले बताए ।

मकैको खोस्टा (पोस्कर) बाट उत्पादित हस्तकलाका विभिन्न सामग्रीको लागी बजारीकरणको कुनै समस्या नहुने जिम्मा आयोजकले लिएको छ । तालिममा २० जना महिलाको सहभागिता रहेको थियो । उनीहरुले तालिम अत्यन्त फलदायी भएको बताउँदै अब आफुहरु उत्पादनमा जोडिने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित् समाचार