वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगामा पशुचौपायाहरुमा विषको प्रयोगमा रोक तथा गिद्ध संरक्षण सम्बन्धि कार्यशाला गोष्ठी भएको छ । नेपाल पारा भेटेनरी एण्ड लाईभस्टक एशोसिएसन कपिलवस्तु र नेपाल पंक्षी संरक्षण संघको आयोजनामा उक्त कार्यक्रम आईतबार बाणगंगा नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेपाल पारा भेटेनरी एण्ड लाईभस्टक एशोसिएसनका केन्द्रिय अध्यक्ष राम प्रसाद मेहताले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन २०७९ ल्याउनका लागी नेभ्लाको भूमिका र हालसम्म गरेका मुख्य कामहरुको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा पंक्षी संरक्षण संघका कार्यक्रम संयोजक भूपाल थापाले गिद्ध संरक्षणको महत्व, ह्रास हुनको कारण, नेपालमा गिद्ध संरक्षणको उपलब्धि तथा प्रयास, गिद्ध संरक्षित क्षेत्रको अवधारणा लगायतको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले पशु स्वास्थ्य तथा पशु सेवा प्रत्यक्ष रुपमा स्थानीय तहसंग जोडिने विषय भएको बताए । उनले पशुपालक र व्यवसायी स्थानीय स्तरमा रहेकाले उनीहरुलाई प्रोत्सहन गर्न नगरपालिका निरन्तर रुपमा लागेको र आगामी दिनमा पनि सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।
विभिन्न हानीकारण औषधीको प्रयोगले उत्पादनमा ह्रास आउने भएकाले त्यसतर्फ नगरपालिका सचेत रहेको उनले बताए । उनले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको क्षेत्रमा योजनावद्ध रुपमा अघि बढ्ने तयारी रहेको समेत सुनाए ।








