दाङ ।
आठ दलले प्रदेश सांसदहरूलाई प्रशिक्षण दिएका छन्। फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनको विषयलाई केन्द्रित गरेर लुम्बिनीमा प्रदेश सभा सदस्यहरूलाई प्रशिक्षण गरिएको हो।
लुम्बिनीको राजधानी राप्ती उपत्यका क्षेत्रमा आठ दलका केन्द्रित नेताहरूको सहभागितामा प्रदेश सांसदहरूलाई पछिल्लो सत्ता समिकरणका विषयमा पनि जानकारी गराइएको छ।
जहाँ मत बदर हुन नदिनेदेखि २३ गतेनै काठमाडौं पुग्न निर्देशन दिइएको छ। एनजीओ, आइएनजिओका नाममा सांसदलाई अल्मल्याउन खोजिएको भन्दै यस्ता उल्झनमा नपर्न समेत सचेत गराइएको छ।
‘निर्देशन अनुसार प्रदेश सभा सदस्यहरू २३ गते नै काठमाडौं पुगिसक्नु पर्नेछ। नागरिकता वा मतदाता परिचयपत्र अनिवार्य साथमा राखेर काठमाडौं पुग्न निर्देशन दिइएको छ।
गोप्य मतदान भएपनि कसैको प्रलोभनमा नपर्न समेत सांसदहरूलाई भनिएको छ। यसका अतिरिक्त मत बदर हुन नदिन सही तरिकाले मतदान गर्न भनिएको छ।
मतपत्रमा यसपालि स्वस्तिक छापले संकेत गर्नुपर्ने छ। अहिले त उम्मेदवारको फोटो पनि भएकाले मत संकेत गर्न सहज हुने जानकारी दिइएको छ।
राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुँदै छ। फागुन २५ मा तेस्रो कार्यकालका लागि राष्ट्रपति चयन गर्नेछ। आठ राजनीतिक दलबाट कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङ राष्टपतिको उम्मेदवार बनेका छन्।
संवैधानिक मर्यादाभित्र रहने व्यक्तिलाई राष्ट्रपति पदमा निर्वाचित गरिनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बताए। ‘संविधानभन्दा माथि कोही छैन। तर, विगतका अभ्यासले त अर्कै संकेत गर्यो’ उनले भने, ‘संविधानको रक्षाका लागि हामी एक ठाउँमा उभिएका हौं।’ संविधानमा राष्ट्रपतिलाई कार्यकारी अधिकार दिइएको छैन।
तर, अघिल्ला केही अभ्यासले राष्ट्रपतिलाई कार्यकारी जस्तो भूमिकामा देखाउनु चुनौतीको विषय बनेको र अब बन्ने राष्ट्रपतिले संविधानको रक्षा, त्यसको पालनामा ध्यान दिनुपर्ने बताए।
नेपाली कांग्रेस सुजबुझ पूर्ण रुपमा राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको माओवादी नेता चक्रपाणि खनालले बताए।
‘पाँच दलीय गठबन्धन किन बन्यो, किन भत्कियो, नयाँ किन बन्यो भन्ने भन्दा पनि हामी संविधान रक्षाको लागि एक ठाउँमा छौं’ उनले भने, ‘हाम्रो बीचमा विश्वास चाहिन्छ। कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिका रूपमा सुझबुझपूर्ण रूपमा उम्मेदवार बनाएको छ।’
माओवादी केन्द्रका केन्दीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपानी शर्माले आबश्यकता अनुसार आठ दलीय गठबन्धन बनेको र यसले लोकतन्त्र, संविधानको रक्षा गर्ने बताए।
आठ दलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनका लागि मात्रै नभएर सत्ता समीकरणमा पनि भएको र पुरै कार्यकाल कायम रहने बताए। संविधान रक्षाका लागि सही व्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गरिनुपर्ने भएकाले नयाँ गठबन्धन निर्माण भएको लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए।








