बुद्धभूमि ।
कपिलवस्तुको टिक्कर-बुड्ढी-बिजगौरी हुँदै तौलिहवा जोड्ने २२ किलोमिटर सडक जीर्ण अवस्थामा छ । जसले स्थानीयवासी कष्टकर यात्रा गर्न बाध्य छन्।
धुलामेय सडकका कारण बालबालिका तथा वृद्धवृद्धामा विभिन्न किसिमका रोगको सङ्क्रमण हुने खतरा बढेको छ। तत्कालीन जिल्ला विकास समिति हुँदा स्थानीय सडक सुधार परियोजना एसएनआरटीपीमार्फत १० करोडको लागतमा सो निर्माण भएको थियो। करिब २२ किलोमिटर कपिलवस्तुको टिक्कर, बुड्ढी, बिजगौरी हुँदै तौलिहवा जाने सडक हाल आएर टिक्करबाट कालोपत्रेको काम सुरु भए पनि बजेट अभावमा पूरा हुन सकेको छैन।
बुद्धभूमि नगरपालिकास्थित घनचौरादेखि बुड्ढी–हनुमानचोक हुँदै तौलिहवा जाने सडक ठाउँठाउँमा भत्किँदा एकातिर दुर्घटनाको जोखिम बढेको छ भने अर्कातिर स्थानीयहरु हिउँदमा धुलामेय र वर्षायाममा हिलामे सडकमा कष्टकर यात्रा गर्नुपर्ने बाध्य छन् ।
एक स्थानीय अम्मरराज आचार्यले धुलामेय सडकका कारण वृद्धवृद्धा, बालबालिकामा दम, आँखा चिलाउनेलगायतका सङ्क्रमणका साथै वातावरणीय प्रदूषण समेत बढेको बताए ।
आवश्यक बजेट विनियोजन नहुँदा कालोपत्रेको काम अलपत्र परेको बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बताए । उक्त सडकमा सवारीसाधनको चाप बढी हुनु, सडकको क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधन गुड्नुले पनि समस्या थपेको छ। २२ किलोमिटरमध्ये तीन किलोमिटर कालोपत्रे सकिएको छ।
बजेटको अभावमा १९ किलोमिटर काम अलपत्र परेको छ। सो सडक निर्माण गर्न ४४ करोड रकम आवश्यक रहेको पालिकाले जनाएको छ।