रुपन्देही ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम ४२ महिनामा सक्ने गरी २०७५ चैत ८ गते सम्झौता गरिएको थियाे । तर, ४ वर्ष पूरा हुन लाग्दा २५ प्रतिशतमात्रै काम भएको छ ।
११४ किलोमिटरको यो सडक खण्ड पार गर्न ६ देखि ८ घण्टा लाग्ने भएकाले सवारी चालक र सेवाग्राहीलाई निकै सकस छ । निर्माण सुरु भएको यति लामो समयसम्म पनि कामले गति लिन नसक्दा सबैलाई हैरानी पारेको छ । जिम्मेवार निकायले अनुगमन गर्न नसक्दा र कार्यान्वयनमा चासो नदेखाउँदा सडक विस्तारको कामले गति लिन नसकेको गुनासो पीडितहरूको छ ।
यो सडक खण्डमा पहिले २ घण्टामा यात्रा गर्ने चालक दीपक थापाले अहिले कम्तीमा पनि ६ घण्टा लाग्ने बताए । ‘निर्माणका क्रममा केही समस्या त हुनसक्छ, हामी पनि बुझ्छौं । तर, यति लामो समय अस्तव्यस्त बनाउँदा पनि सरकारले किन वास्ता गरेको छैन, उनीहरू यो बाटो ओहोरदोहोर गरे भने अलिकति ज्ञान हुन्थ्यो कि ?’, थापाको आक्रोश छ ।
सडक छेउमा बनाइएका खाल्डाखुल्डीले एकपटक यात्रा गरेपछि गाडीमा पूरै समस्या आउने र काम सुरु गरेको स्थानमा निर्माण सामग्री बाटोमै राख्ने तथा नियमित धुलो मार्ने गरी पानी छर्कने काम नहुँदा सास्ती पाएको उनको गुनासो ।








