सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिकामा फागुन २५ गतेदेखि सुरु भएको चौथो मेयर कपको उपाधिको वडा नम्बर १ ले उचालेको छ । डिफेन्डिङ्ग च्याम्पियन वडा नम्बर २ लाई हराउँदै वडा नम्बर १ ले उपाधि जितेको हो । निकै प्रस्पिर्धात्मक खेलमा वडा नम्बर १ ले १–० को गोल अन्तरले जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । वडा नम्बर १ का लागी दोस्रो हाफको २१ औं मिनेटमा विशाल अधिकारीले गरेको गोल नै जितका लागी पर्याप्त हुन पुग्यो । अधिकारी फाईनल खेलको ‘प्लेयर अफ दि म्याच’ समेत भए ।
उपाधि जितेसंगै वडा नम्बर १ ले नगद रु. एक लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको भने उपविजेता बनेको वडा नम्बर २ ले नगद रु.७५ हजारसहित मेडल र प्रमाण पत्र पाएको छ ।
चौथो मेयर कपको उपाधि हात पारेसंगै वडा नम्बर १ दुई पटक मेयर कपको उपाधि जित्ने वडा बनेको छ । वडा नम्बर १ ले प्रथम मेयर कपको उपाधि जितेको थियो । दोस्रो र तेस्रो मेयर कपको उपाधि भने वडा नम्बर २ ले जितेको थियो । यस पटक पनि उपाधि जितेर ह्याट्रिक गर्ने वडा नम्बर २ को प्रयास अन्तिममा आएर विफल हुन पुग्यो ।
सोमबार भएको सेमिफाईनल खेलमा वडा नम्बर १ वडा नम्बर ४ लाई हराउँदै फाईनलमा पुगको थियो भने वडा नम्बर २ वडा नम्बर १० लाई हराउँदै फाईनलमा पुगेको थियो ।