गृहपृष्ठ Featured रामसहायले पाए उपराष्ट्रपति निर्वाचित भएको प्रमाणपत्र

रामसहायले पाए उपराष्ट्रपति निर्वाचित भएको प्रमाणपत्र

प्रकाशित मिति:

काठमाडौँ ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवलाई निर्वाचन आायेगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको छ ।
शुक्रबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिस्पर्धी एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झालाई पराजित गरी विजयी भएका यादवलाई आयोगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको हो ।

उनलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र प्रदान गरे । नयाँ बानेश्वरस्थित संसद्‌ भवनमा आयोजित प्रमाणपत्र प्रदान एवं नतिजा घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जसपाका नेताहरु र निर्वाचन आयोगका निर्वाचन आयुक्तहरुको उपस्थिति रहेको थियो ।

निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत प्राप्त गरे । एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेश सभातर्फ १६९ र संघका १०४ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार रह्यो भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २ हजार ५३७ मतभार प्राप्त गरे । यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला कुमारी यादवले प्रदेशमा १ मतसहित ४८ मतभार पाएकी थिइन् ।

सम्बन्धित् समाचार