काठमाडौं ।
एडम जम्पाले चार विकेट लिनुका साथै मिचेल मार्शले ४७ रन बनाएपछि अष्ट्रेलियाले बुधबार राति घरेलु टोली भारतलाई तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २१ रनले हराएको छ । योसँगै तीन खेलको शृंखला अष्ट्रेलियाले २–१ ले जितेको छ ।
चेन्नईको एमए चिदम्बरम रंगशालामा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २६९ रन बनाएको थियो । २४९ रनको लक्ष्य पछ्याएको भारतले ४९.१ ओभरमा सबै विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो ।
यसअघि, अष्ट्रेलियाले दोस्रो खेल १० विकेटले जितेको थियो । पहिलो खेलमा भारत पाँच विकेटले विजयी भएको थियो ।
४५.१ ओभरमा जडेजा आउट हुँदा भारत २२५/८ को स्थितिमा थियो । त्यसपछि स्टोइनिसले मोहम्मद सिराजलाई बोल्ड गर्नुका साथै कुलदीप यादव रनआउट भएपछि अष्ट्रेलिया विजयी भयो ।
त्यसअघि, भारतका विराट कोहलीले ५४, शुभमन गिलले ३७, केएल राहुलले ३२ रन बनाएका थिए । अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अष्ट्रेलियाका जम्पाले १० ओभरमा ४५ रन दिएर चार विकेट लिए । अष्टन अगरले दुई विकेट लिए । स्टोइनिस र सेन एबोटका नाममा एक/एक विकेट रह्यो ।
पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि मार्शले सबैभन्दा धेरै ४७ रन बनाए । उनले पहिलो विकेटका लागि ट्रभिस हेडसँग ६८ रनको साझेदारी गरे । हेडले ३३ रन बनाए । डेबिड वार्नरले २३, मार्नुस लाबुसेनले २८, एलेक्स क्यारीले ३८, स्टोइनिसले २५, एबोटले २६, अगरले १७ र मिचेल स्टार्कले १० रन बनाएका थिए । जम्पाले अविजित १० रन जोडे ।
भारतका कुलदीप यादव र हार्दिक पाण्डेयले समान तीन विकेट लिए । सिराज र अक्सर पटेलले दुई/दुई विकेट लिए ।








