शनिबार र आइतबार अन्तर्राष्ट्रिय विज्ञ डा. डंकन मार्सल (अस्ट्रेलिया) प्रा.डा. रविन कनिङहम (बेलायत), प्रा. डा. युकियो निसिमुरा (जापान) सहित नेपालका तर्फबाट विज्ञहरु काई वाइजे, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, राजेन्द्र सुवाल, यनी जोशीको सहभागितामा मनोनयन दस्तावेजका लागि विधागत विषयमा गहन छलफल गरिएको छ। मनोनयन दस्तावेजमा पुरातत्त्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य र पुरातत्त्वविद् वसन्त बिडारीले विज्ञहरुले निकालेको निष्कर्षमा सुझाव दिएका थिए।
लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईको संयोजकत्वमा विश्वसम्पदा सूचीमा राख्न मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन विज्ञहरुसँग छलफल अगाडि बढाइएको छ।
आइतबार विज्ञहरुको कार्यशालामा सरोकारवाला सरकारी निकायका प्रतिनिधि र सरोकारवालाहरुसँग पनि छलफल गरिएको छ। छलफलमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी) ले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा जतिसक्दो चाँडो सूचीकृत गराउने गरी मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन विज्ञहरुलाई आग्रह गरे। उनले तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुँदा कपिलवस्तुको ऐतिहासिक र पुरातात्त्विक महत्त्व विश्वले थाहा पाउने बताए।