गृहपृष्ठ Featured आईपीएलमा लखनउको चौथो जित

आईपीएलमा लखनउको चौथो जित

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले शीर्ष स्थानको राजस्थान रोयल्सविरुद्ध १० रनको जित निकालेको छ । लिगमा लखनउको यो चौथो जित हो ।

बुधबार सवाइ मनसिंह रंगशालामा सम्पन्न खेलमा लखनउले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रनमात्र बनायो ।

राजस्थानका यशस्वी जैसवालले ४४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । जस बट्लरले ४०, देभदत्त पडिकलले २६ र रियान परागले १५ रन जोडे । लखनउका आभेस खानले तीन विकेट लिए । यस्तै, मार्कुस स्टोइनिसले दुई विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५४ रनको योगफल खडा गरेको थियो ।

लखनउका काइल मयेर्सले ५१ रन बनाएका थिए । कप्तान लोकेश राहुलले ३९, निकोलस पुरनले २९ र मार्कुस स्टोइनिसले २१ रन बनाए ।

राजस्थानका रविचन्द्रन आस्विनले दुई विकेट लिए । जासन होल्सर, सन्दीप शर्मा र ट्रेन्ट बोल्टले समान एक विकेट हात पारे ।

जितसँगै ६ खेलबाट आठ अंक जोडेको लखनउ तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट आठ अंक नै जोडेको राजस्थान शीर्ष स्थानमा यथावत् छ ।

सम्बन्धित् समाचार