लुम्बिनी ।
बुद्धकालीन समयको ‘कालानमक’ चामल उपहारस्वरूप कम्बोडिया लगिने भएको छ । २५६७औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी) ले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई उपहारस्वरूप कालानमक चामल प्रदान गर्ने भएका हुन् ।
यही वैशाख १९ गते (मे २ तारिख) का दिन कम्बोडियामा हुने अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा बुद्धजन्मस्थलको रैथाने कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीकै मागअनुसार उपहारस्वरूप प्रदान गरिने भिक्षु मैत्तयले बताए । कार्यक्रममा सहभागी हुन जानुअघि शुक्रबार भिक्षु मेत्तेयलाई लुम्बिनी एग्रो टुरिजम एण्ड रिसर्च सेन्टरका तर्फबाट चन्द्रप्रकाश पाठकले कलानामक धानको चामल प्रदान गरेका छन् ।
बुद्धजन्मस्थल लुम्बिनीमा रहेको सेन्टरले विगत चार वर्षदेखि लोप हुने अवस्थामा पुगेको बुद्धकालीन कालानमक धानको संरक्षण र बजारीकरण गर्दै आएको छ । बौद्ध धर्म मान्ने मुलुक कम्बोडियाका प्रधानमन्त्रीले बुद्धकालीन कालानमक धानको चामल माग गर्नुले बौद्ध परम्परामा यो चामलको महत्त्व उजागर गरेको कोषका भिक्षु मैत्तयले बताए ।
कपिलवस्तु, लुम्बिनी र नवलपरासीमा उत्पादन हुने यो धानको चामललाई कम्बोडियाका प्रधानमन्त्रीलाई राज्य उपहारका रूपमा दिएसँगै कम्बोडियामा पनि प्रचार हुने उनको भनाइ छ । बुद्धकालमा राजप्रासाद तिलौराकोट बाहिर असार पूर्णिमामा कालानमक रोपेर धान मङ्गलोत्सव गरिने इतिहासमा उल्लेख छ । बुद्धकालीन महत्त्व भएकाले यसको संरक्षण गर्न कम्बोडियाका प्रधानमन्त्रीले माग गर्नुले पुष्टि गरेको भिक्षु मैत्तयले बताए ।
कम्बोडियाका प्रधानमन्त्रीसँग कोषका उपाध्यक्ष भिक्षु मैत्तयले भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको विकास र यसलाई विश्वकै महत्त्वपूर्ण ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको क्षेत्रका रूपमा विकास गर्न छलफल गर्नेछन् । साथै दुई देशका जनताबीचको सम्बन्ध, पर्यटन, शान्ति र विकासका लागि सहकार्यका विषयमा छलफल हुने उनले बताए ।