बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न हुनसकेको छैन ।
बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
तर हालसम्म तीनपटक म्याद थप भए पनि काम सन्तोषजनकरूपमा अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इञ्जीनियर नीरज शाक्यले जानकारी दिए ।
“सम्झौताअनुसार प्रतिदिन शून्य दशमलव शून्य पाँच प्रतिशतका दरले हर्जाना लगाएर काम सुरु भए पनि सन्तोषजनकरूपमा निर्माण कार्य अघि बढेको छैन”, उनले भने।
सुरुआतमा बिजुलीका पोल तथा खानेपानीको पाइप सार्ने, रुख तथा सडकखण्डमा पर्ने संरचना, कोभिड–१९ का कारण कामले गति लिन नसके पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापरवाही देखिएको छ ।