काठमाण्डौँ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले प्रदेश सरकारका कृषि मन्त्री र सचिवसंग शुक्रबार छलफल गर्नु भएको छ । कोशी, मधेश र कर्णालीका कृषि मन्त्री तथा लुम्बिनी, गण्डकी, वाग्मती र सुदुरपश्चिम प्रदेशका कृषि सचिवलाई शुक्रबार कृषि मन्त्रालयमै डाकेर मन्त्री भुसालले आगामी बजेट तथा कृषि क्षेत्रमा भए गरेका गतिविधिबारे जानकारी लिनुभएको हो ।
सो क्रममा उहाँले अब नतिजामुखी भएर काम गर्नुको विकल्प नभएको भन्दै आवश्यक निर्देशन समेत दिनुभयो ।
नेपालको कृषि क्षेत्रको विकासको लागि छुट्टै ऐन नबन्दा समस्या सिर्जना भएको भन्दै आफूले गर्न सक्ने क्षेत्रमा इमान्दारपूर्वक काम गरेर जनताको मन जित्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाई थियो ।
पोखरा उप–महानगरपालिकाका मेयर धनराज आचार्यसमेतको सहभागिता भएको छलफलमा मन्त्री भुसालले प्रदेश र स्थानीय तहमा भए गरेका कामको जानकारी लिनु भएको थियो ।
कृषिको आधुनिकीकरण तथा यान्त्रिकरणमा जोड दिन आग्रह गर्दै मन्त्री भुसालले भन्नुभयो, ‘कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हाम्रो ध्यान छैन । अनुदानको रकम दुरुपयोग भइरहेको सुनिन्छ । उत्पादनमुखी अनुदान छैन । वास्तविक किसानसंग अनुदान नपुगेको गुनासो सुनिन्छ । यत्ति कुरामा तपाई सचेत रहन सक्नु भयो भने पनि धेरै सुधार हुन्छ । तपाईहरु इमान्दारभएर काम गर्नुहोला ।’
छलफलमा सहभागी भएकाहरुले मन्त्रीको निर्देशन पालना गर्ने बताएका थिए ।
मन्त्री भुसालले यसपटक किसानको लागि रासायनिक मल सहज हुने बताउँदै सोही अनुसार आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउनु भएको थियो ।