गृहपृष्ठ Featured शनिबारसम्म मुलुकका धेरै क्षेत्रमा वर्षाको सम्भावना

शनिबारसम्म मुलुकका धेरै क्षेत्रमा वर्षाको सम्भावना

केही दिन कमजोर बनेको मनसुनी प्रणाली फेरि मजबुत बनेको छ । जसकारण आज बिहीबार रातिदेखि शनिबारसम्म देशका धेरैजसो क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् विनु महर्जनका अनुसार देशभर मनसुनी वायु सक्रिय रहेकाले आगामी २४ घन्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षाको सम्भावना छ ।

ती प्रदेशका केही क्षेत्रमा भीषण वर्षाको आकलन पनि गरिएको छ । गण्डकी र लुम्बिनीका तराईका धेरै तथा बाँकीका तराईका थोरै स्थानमा हावाहुरीको पनि प्रक्षेपण महाशाखाले गरेको छ ।

अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सु्दूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ ।

शुक्रबार देशभर बदली हुने र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश केन्द्रित वर्षा हुने अनुमान गरिएको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ । शुक्रबार राति भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम केन्द्रित वर्षा हुने देखिन्छ ।

शनिबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा  बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ भने त्यसमा पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भीषण वर्षाको आकलन गरिएको छ ।

तीन दिन मधेश, गण्डकी र लुम्बिनीका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

सम्बन्धित् समाचार