बुटवल ।
बुटवलमा निर्माण सम्पन्न भैसकेको पशु वधशाला ३ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । बुटवल उपमहानगरपालिका–१० रामनगरमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा तयार छ वधशाला । तर, वधशाला अहिले प्रयोगविहीन अवस्थामा छ । समयमा सञ्चालनमा नआउँदा नगरपालिकाले पुनः टेन्डरमा लैजाने तयारी गरेपछि थप ढिलाइ हुने भएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाका अनुसार निर्माण भएको वधशाला सञ्चालनको लागि ३ वर्ष अगावै सम्झौता भएको थियो । अहिले सञ्चालन गर्ने अन्तिम बेलामा पुरानो प्रक्रिया नमिलेको भन्दै नयाँ टेन्डर खोल्ने तयारी भएको छ । यसबारे छिटै सूचना निकाल्ने तयारी रहेको उनले बताए ।
बुटवल उपमहानगरकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले अबको केही दिनमै ३० दिने म्याद राखेर ईबिडिङ हुने जनाए । उनले टेन्डरको सबै प्रक्रिया पूरा गरी अर्को आर्थिक वर्षदेखि मात्रै वधशाला सञ्चालनमा आउन सक्ने गरी काम अगाडि बढाएको बताए ।
वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु वधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरिसकेको छ ।
उक्त विधेयकले पशु वधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी वध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत पत्र लिनुपर्नेजस्ता व्यवस्था गरेको छ ।