बुटवल ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गरेका छन् । प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बम घाटमा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक उद्घाटन गरेका हुन् ।
आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रूपमा सञ्चालन हुने गरी आज औपचारिक उद्घाटन भएको हो । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।
उद्घाटन पछि लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गे धारा, पोखरी आदि संरचनाहरूले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ ।
यसअघि यही जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राण प्रतिष्ठा गरी पुजा आराधना सुरु गरिएको थियो । सप्ताहव्यापी पुजा आराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरूले धार्मिक प्रवचन दिएका । वसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।
केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्टाउने छ । आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो ।
यसअघि आइएमई समूहले काठमाडौँको चन्द्रागिरि र हालै नवलपुरको गैँडाकोटमा मौला कालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ । लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताए ।