वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विहिबार हनुमानचोक बुड्ढीस्थित नगरपालिकाको सभाहलमा १३ औं नगरसभा आयोजित उक्त निति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
गौरवका योजनालाई निरन्तरता दिदैं अधुरा योजनाहरु पुरा गर्ने कार्यलाई उच्चतम प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको नगरप्रमुख केशवकुमार श्रेष्ठले बताए ।
उनले सामाजिक, आर्थिक तथा भौतिक पुर्वाधारहरु निर्माणसंगै गुणस्तरियतालाई थप वृद्धि गर्ने बताए । बुद्धभूमि नगरपालिकालाई कृषिमा आत्मनिर्भर र खाद्यान्नको निकासीमार्फत आयस्तरमा सुधार गर्न सिंचाई प्रणालीको सुधार, विस्तार र सुदृढीकरणको लागी बजेट व्यवस्था गरिने नितिमा उल्लेख छ ।
नगरप्रमुख श्रेष्ठले नगरपालिकाका १० वटै वडामा फ्रि वाईफाई जोन, फाईबर नेट विस्तार कार्य अगाडि बढाउने बताए । उनले “एक वडा एक उत्पादन” कार्यक्रम मार्फत १० वटै वडालाई कुनै एक वस्तुमा आत्मनिर्भर बनाउने बताए ।

निति तथा कार्यक्रममा बालश्रम मुक्त नगर बनाउन विभिन्न निकायसंग हालेमालो गरि वडा नं.५, ६ र १० मा कार्यक्रम संचालन गर्ने कार्यलाई निरन्तरता दिने उल्लेख छ ।
नगरसभाले विनियोजन ऐन २०८०, बुद्धभूमि नगरपालिकाको आर्थिक ऐन २०८०, बुद्धभूमि नगरपालिकाको दररेट ऐन २०८० पारित गरेको छ ।








