गृहपृष्ठ Featured गुल्मीदरबारमा १५ शय्याको अस्पताल निर्माणको काम अन्तिम चरणमा

गुल्मीदरबारमा १५ शय्याको अस्पताल निर्माणको काम अन्तिम चरणमा

प्रकाशित मिति:

गुल्मी ।

गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको वडानम्बर-३ को धुरेलडाँडामा १५ शय्याको अस्पताल भवन निर्माणको काम भइरहेको छ ।

भवनको काम अहिले रङ्गरोगन र सरफाइको काम मात्रै बाँकी रहेको छ । भवन निर्माणको प्रगति ९५ प्रतिशत भएको गुल्मी दरबारगाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालले बताए ।

नेपाल सरकारले २०७७ साल मंसिर १५ देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यास गरेको थियो । तर, जिल्लाका अन्य स्थानीय तहमा भने अस्पताल निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ ।

गुल्मीदरबार गाउँपालिकामा निर्माण भएको भवनको २०७७ साल मंसिर १५ गते तत्कालीन लुम्बिनी प्रदेशका सांसद कमलराज श्रेष्ठले शिलान्यास गरेका थिए ।

कुल १८ करोडको लागतमा भवन तयार हुन लागेको भवनको अर्जुन बिल्र्डस प्रालिले निर्माण गरेको हो ।

भवन यही असार मसान्त सम्म निर्माण सक्नुपर्ने मिति रहेको छ । भवनमा लिफ्ट सिस्टमसँगै अत्याधुनिक खालको रहेको छ ।

अहिले  गुल्मीदरबार गाउँपालिकामा हाल ४ वटा वडामा वर्थिङ्ग सेन्टर सञ्चालनमा रहेको छ भने २ वडामा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ ।

गाउँपालिकामा हाल स्वास्थ्य चौकी बाहेक अन्य कुनै पनि अस्पताल रहेका छैनन् । त्यहाँका नागरिकले सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम तम्घास र पाल्पा, बुटवल जानुपर्ने बाध्यता रहेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पालिकामै १५ शैय्याको अस्पताललाई संचालनमा ल्याउने भएको छ ।

त्यसको लागि गाउँपालिकाले २०८०/८१ सालको  नीति तथा कार्यक्रममा एम.बी.बी. एस. डाक्टरको नियुक्ति गरी विशेषज्ञ सेवा प्रवाह गर्ने भएको छ ।

गाउँपालिकामा एम.बी.बी.एस. डाक्टरसहितको सेवा सञ्चालनमा ल्याउदा यहाँका धेरै नागरिक स्वास्थ्य सेना लिन अनेत्र जानुपर्ने बाध्यताको अन्त्य हुने लक्ष्य गाउँपालिकाले लिएको छ ।

सम्बन्धित् समाचार