बुटवल ।
लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन् । आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए ।
एक महिनाको अवधिमा २८ हजार ६ सय ७९ जनाले केबलकार चढेका र यस वाहेक विशिष्ट व्यक्तिहरु, कलाकार, सेलिब्रिटीहरु समेत गर्दा करिब ३० हजार जना पुगेका लुम्बिनी केबलकार प्रालिका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । जसमध्ये ८७.९४ प्रतिशत नेपाली, ७.२५ प्रतिशत भारतीय र तेस्रो मुलुकका ११ जना रहेका सैंजूले बताए ।
जेठको १५ दिनमा १७ हजार ५४ जनाले केबलकार चढेकामा असारको २६ दिनमा ११ हजार ६ सय २५ जनाले चढेका छन् । केबलकारले बुटवलको वडा नंं ३ र तिनाउ गाउंपालिका–३ का वडावासी स्थानीय र विद्यार्थीलाई टिकटमा २५ प्रतिशत,सशष्त्र प्रहरीलाई २० प्रतिशत छुट दिएको छ भने जेष्ठ नागरिक,अपांगता भएकालाई पनि टिकटमा छुट दिएको छ ।
टप स्टेशनमा कामाख्या देवी मन्दिर,सय वर्ष पुरानो भगवतिको मन्दिर, भगवान शिवको वाहन नन्दी सहितका धार्मिक स्थल र घुमिफिरका लागि पर्याप्त ठाउं र संरचनाहरु रहेकाले सञ्चालनमा आएको एक महिनामै उल्लेख्य संख्यामा पर्यटकहरु आएका आयोजना प्रमुख गोकुल साउदले बताए । २.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशन समुन्द्री सतहबाट करिब एक हजार फिट उचाईमा रहेकाले त्यहांको हावापानी गर्मी मौसममा शितल र जाडोमा न्यानो हुन्छ ।








