नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ। आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवार समुदाय यतिबेला धिमे बाजा, मादल र झ्याली संरक्षण अभियानमा सक्रिय भएर लागेको छ।
नेवार समुदायका युवालाई वाद्यवादन सम्बन्धी प्रशिक्षण समेत सञ्चालन गरिएको सिका नेवाः गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए। ‘धिमे बाजा नेवार समुदायमा शोकबाहेक अन्य सबै शुभकार्यमा बजाइने बाजा हो। तर, यही बाजाको संरक्षण नभएर लोपोन्मुख अवस्थामा पुगेको छ’, उनले भने।
कावासोती नगरपालिका-२ का रविन श्रेष्ठ यतिखेर धिमे बाजा बजाउन व्यस्त छन्। नेवार भएर नेवार समुदायको बाजा बजाउन नआउँदा खिन्न हुनुपरेको उनको अनुभव छ। तर, अहिले उनी खुसी छन्। सोही ठाउँकी आकृति श्रेष्ठको पनि आफ्नो समुदायको पौराणिक धिमे, मादल र झ्याली बाजा बजाउन सिक्न थालेको केही हप्तामा नै सहज लाग्न थालेको अनुभव छ।
‘आफ्नो समुदायको बाजा बजाएको टेलिभिजनमा मात्र देखेकी थिएँ तर अहिले मलाई नै यी बाजा बजाउन आउँछ’, उनले भनिन्। यो बाजा पुरुषले मात्र बजाउनुपर्छ भन्ने मान्यता रहे पनि स्थानीय सुनिता श्रेष्ठले आफैं अग्रसर भएर यो बाजा बजाउन सिकेको बताइन्। कक्षा १२ को परीक्षा दिएर बसेको खाली समयलाई आफ्नो धर्म संस्कृति जगेर्ना गर्न सदुपयोग गरेको उनको भनाइ छ।
अब नेवार समुदायमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुँदै धिमे बाजा बजाउन सक्ने भएकी छु’, श्रेष्ठले भनिन्। आफ्नो कला र संस्कृति लोप हुँदै गएको महसुस गरी सुनिता, आकृति र रविनसहित झन्डै २० जनाले यो बाजा बजाउन सिकेका छन्। सुरुसुरुमा धिमे बाजा बजाउन असहज भए पनि अहिले बजाउँदा आनन्द आउने गरेको उनीहरू बताउँछन्।
सिका नेवाः गुठी कावासोतीले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि भन्दै आयोजना गरेको ४५ दिने तालिममा सहभागी भएर स्थानीय युवाले बाजा बजाउन सिकेका छन्। पर्व र संस्कृतिका धनी नेवार समुदाय आफ्नो जातीय पहिचान जोगाउन प्रयत्नशील रहे पनि सरकारी निकायबाट सहयोग नपाइएको सिका नेवाः गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए। ‘धिमे बाजा’ नेवार समुदायमा विभिन्न चाडपर्वमा बजाउने चलन रहेको सिका नेवाः गुठीका सांस्कृतिक समूह संयोजक रोशनकुमार श्रेष्ठले बताए।