रुपन्देही ।
पश्चिम नवलपरासीको पाल्हीनन्दनमा रहेको एक मन्दिरका पुजारीमाथि चक्कु प्रहार भएको छ ।
पाल्हीनन्दन गाउँपालिका- २ भक्सिपुरस्थित रामजानकी मन्दिरका पुजारी ५५ वर्षीय जयसराज पाण्डेमाथि चक्कु प्रहार भएको हो । पाण्डे दुई वर्षदेखि त्यहाँ पुजारी थिए । एक व्यक्तिले बिहीबार दिउँसो पाण्डेको टाउकोमा चक्कु हानेर मोबाइल लुटेर फरार भएका छन् ।
टाउकोमा चोट लागेका पाण्डेको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।
चक्कु हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।