गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा ९२ प्रतिशत रोपाई : पानीले दिलायो राहत

कपिलवस्तुमा ९२ प्रतिशत रोपाई : पानीले दिलायो राहत

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुमा धान रोपाईको काम अन्तिम चरणमा पुगेको छ । जिल्लामा ९२ प्रतिशत रोपाई सम्पन्न भएसंगै धान रोपाईको काम अन्तिम चरणमा पुगेको हो । साउनको तेस्रो हप्तासम्म कपिलवस्तुमा ६७ हजार २ सय १० हेक्टर क्षेत्रफलमा अर्थात ९२ प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा.रविन्द्रनाथ चौबेले वैखरीलाई जानकारी दिए ।

उनका अनुसार गतवर्षको तुलनामा यस वर्ष कम धान रोपाइँ भएको छ ।  गत वर्षको यही समयमा धान रोपाइँ सकिएको थियो ।

जिल्लाका उत्तरी पालिकाहरुमा रोपाई सम्पन्न भईसकेको जानकारी दिदैं उनले भने, ‘बाणगंगा, बुद्धभूमि, शिवराज, विजयनगरमा रोपाई सकिसकेको छ । दक्षिणी क्षेत्रका पालिकाहरुका केही भागमा मात्र रोपाई गर्न बाँकी छ ।’ प्रमुख चौबेले अहिले कपिलवस्तुमा मलको चरम अभाव नरहेको दाबी समेत गरे । ‘मलखाद पर्याप्त त छैन्, तर चरम अभाव भएको भन्ने अवस्था हैन । पर्याप्त त कहिले पनि हुदैंन्,’ उनले भने ।

उनले धान उत्पादनको अनुमान अहिलै गर्न नसकिने उनको भनाई छ । ‘अहिले नै उत्पादनको अनुमान गर्न गाह्रो छ,’ उनले भने, ‘गतबर्ष काट्नका लागी ठिक्क भएको धान पानीले सबै डुवायो । खुला आकाशमुनी हुने खेतीको अनुमान गर्न कठिन छ ।’ सिचाईको सुविधा भएका तथा खोलानालाको आसपासका क्षेत्रमा असारको अन्तिम सातामै रोपाई सकिएको थियो ।

रोपेको केही सातासम्म पनि पानी नपर्दा किसानहरु धान सुकेर धान उत्पादनमा कमि आउने भन्दै चिन्तित देखिन्थे । तर कपिलवस्तुमा पछिल्ला दिनहरुमा लगातार हल्कादेखि मध्यम बर्षा भएको छ । जसले कपिलवस्तुका किसानहरुले राहत महसुस गरेका छन् । ‘अहिले त पानी परेर धेरै नै राहत भएको छ,’ बुद्धभूमि नगरपालिका ५ का किसान राम प्रसाद ज्ञवालीले भने, ‘ खडेरीले धान सुक्ने अवस्थामा थियो ।’

मल पर्याप्त मात्रा उपलब्ध नभएको उनको गुनासो छ ।

कपिलवस्तु कुल ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा बर्षे धान रोपाई हुने गरेको छ ।

सम्बन्धित् समाचार