गृहपृष्ठ Featured बिदा स्वीकृत नगराई लामो समय विद्यालय नजाने शिक्षकलाई कारबाही गर्न निर्देशन

बिदा स्वीकृत नगराई लामो समय विद्यालय नजाने शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिदा स्वीकृत नगराई लामो समय विद्यालयमा नजाने शिक्षकलाई कारबाही गर्न निर्देशन दिएको छ । सबै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई परिपत्र गर्दै लामो समय बिदामा बस्ने शिक्षकलाई प्रचलित ऐन, कानुन अनुसार कारबाही गर्न निर्देशन दिएको हो ।

निर्देशन दिँदै बिदा स्वीकृत नगराई लामो अवधिसम्म विद्यालयमा अनुपस्थित रहने, विद्यालय र सम्बन्धित निकायले ताकेता गर्दा समेत जवाफ नदिने, सम्पर्कमा नआउने, लामो अवधिपछि राजिनामा पेस गर्ने एवं सेवा सुविधा प्राप्त गर्नका लागि सिफारिस माग गर्ने शिक्षकलाई कारबाही गर्न भनिएको छ ।

शिक्षा ऐन २०२८ को दफा १६ ङ को उपदफा (५) मा सामुदायिक विद्यालयको शिक्षक वा कर्मचारीलाई पदबाट हटाउने अवस्था, शिक्षा नियमावली २०५९ को नियम १३३ मा शिक्षकले पालन गर्नुपर्ने आचार संहिता र सोही नियमावलीको नियम १३५ देखि १४३ सम्म नियम विपरीत कार्य गर्ने शिक्षकलाई गरिने सजाय सम्बन्धी कानुनी व्यवस्था अनुसार प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

अख्तियार प्राप्त अधिकारीले समेत नियमविपरीत कार्य गर्ने शिक्षकलाई प्रचलित कानुन बमोजिम कारबाही नगर्नेलाई समेत कारबाही गरिने चेतावनी दिएको छ ।

सम्बन्धित् समाचार