रुपन्देही ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको कार्यसम्पादनमा गम्भीर असहमति जनाउँदै नेकपा एमालेले विभिन्न २४ बुँदे सुझाबसहित ध्यानाकर्षण पत्र बुझाएको छ । बुटवलका विकास योजनाहरुको कार्यान्वयन तथा जनजीविकासँग जोडिएका विषयहरुमा एमालेले ध्यानाकर्षण पत्र बुझाएको हो ।
बुटवलमा सुकुम्बासी समस्या समाधानका लागि अन्य पालिकामा भन्दा सुस्त गतिमा भएको, छाडा चौपाय व्यवस्थापनका लागि शिवनगर सामुदायिक वनमा रहेको नन्दनी गौशाला सञ्चालनमा राजनीतिक स्वार्थका कारण बन्द भएको, सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि यसअघि लागू गरिएका कार्यक्रमलाई स्वार्थ अनुरुप खारेज गरिएको लगायतका गुनासाहरुसहित ध्यानाकर्षण पत्र बुझाइएको एमाले बुटवलका अध्यक्ष ज्ञवालीले बताए ।
यसैगरी, बुटवलको ज्योतिनगर पहिरोको दिर्घकालिन समाधान, विगतमा निर्मार्ण सुरु भई अलपत्र विकास योजनाहरुलाई पूर्णता दिनु पर्ने, नगरमा भवन संहिता लागू गर्नु पर्ने, कर्मचारीबाट सेवा तथा कामकाजमा हुने ढिला सुस्तीको अन्त्य गर्नु पर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको अध्यक्ष ज्ञवालीले बताए ।
नगर प्रमुख पाण्डेयले आफूलाई सर्वैसर्वा ठानेर तानाशाह प्रवृत्ति देखाएको आरोप लगाउँदै ज्ञवालीले तत्काल आफूहरुले उठाएका विषय सम्बोधन हुनुपर्ने बताए ।
घर नक्सा पास प्रणालीलाई डिजिटल हस्ताक्षर प्रणालीमा अगाडि बढाउनु पर्ने, विद्युतीय कर प्रणालीबाट कर तिर्ने प्रविधिलाई थप व्यवस्थित गर्नु पर्ने, शहरमा सडक वत्तिको व्यवस्था, तिनाउ नदीमा तटबन्द निर्माण लगायतका विषयमा एमालेले ध्यानाकर्षण गराएको छ । नेकपा एमालेले बिकासलाई साझा मुद्दाको रुपमा लिएर अघि बढेको भएपनि स्थानीय सरकारले त्यसलाई वास्ता नगर्ने र व्यक्तिगत इगो लिएर अघि बढ्नेगरेको अध्यक्ष ज्ञवालीले आरोप लगाए ।