गृहपृष्ठ Featured उत्तरी गाजा छाड्न ११ लाख मानिसलाई इजरायली सेनाको निर्देशन

उत्तरी गाजा छाड्न ११ लाख मानिसलाई इजरायली सेनाको निर्देशन

प्रकाशित मिति:

काठमाडौँ ।

इजरायली डिफेन्स फोर्स(आईडीएफ) ले उत्तरी गाजाका करिब ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणतर्फ जान भनेको छ । हमासविरुद्ध जवाफी कारबाही बढेको उल्लेख गर्दै आईडीएफले उनीहरूलाई दक्षिण गाजामा जान भनेको हो ।

संयुक्त राष्ट्र संघका अनुसार यो संख्या पूरा गाजामा रहेका बासिन्दाको लगभग आधा हो । पूरै गाजमा २० लाखभन्दा बढी मानिसको बसोबास रहेको छ । संयुक्त राष्ट्र संघले यति ठूलो संख्यामा दक्षिणी गाजा जान सहज नभएको बताएको छ । उनीहरू आक्रमणमा पर्न सक्नेसमेत राष्ट्र संघले जनाएको छ । राष्ट्र संघका अनुसार गाजामा ३ लाख ४० हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

इजरायली सेनाले भने हमासविरुद्ध जमिनी आक्रमणलाई बढाउने चेतावनी दिएको छ । आईडीएफका प्रवक्ता डानियल हगारीले ११ लाख मानिसलाई सार्न समय लाग्ने कुरा आफूहरूलाई राम्रोसँग थाहा भएको बताएका छन् ।

‘यो युद्धक्षेत्र हो । हामी उनीहरूलाई समय दिन खोजिरहेका छौँ । हामीलाई थाहा छ कि यसका लागि २४ घण्टाभन्दा बढी समय लाग्दैन,’ बीबीसीसँगको कुराकानीमा प्रवक्ता हगारीले भनेका छन् । हमासले भने इजरायली सेनाको निर्देशनलाई बेवास्ता गर्न गाजाका बासिन्दालाई आग्रह गरेको टाइम्स अफ इजरायलले जनाएको छ । आईडीएफका प्रवक्ता हगारीले गाजाका मानिस सुरक्षित स्थानमा नगए त्यसबाट आउने परिस्थितिको जिम्मेवार हमास नै हुने जनाएका छन् ।

यसैबीच हमासले आफ्नो कब्जामा रहेका १३ जना सर्वसाधारण इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको छ । मारिनेमा केही विदेशी नागरिकसमेत रहेको जनाए पनि विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन । हमासले टेलिग्राममा इजरायली आक्रमणमा ‘१३ जना इजरायली बन्दी’ मारिएको बताएको हो ।

सम्बन्धित् समाचार