बुटवल ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा रुपन्देही, दाङ र बाँके जिल्लामा रहेका विभिन्न सहरलाई जोडेर तीन वटा महानगर बनाउने घोषणा गरिएको थियो ।
त्यसपछिका नीति तथा कार्यक्रममा पनि लुम्बिनी प्रदेशको बुटवल–भैरहवा, नेपालगन्ज–कोहलपुर र घोराही–तुलसीपुरलाई महानगरको रूपमा विकास गर्ने योजना समावेश भएको छ । प्रदेश सरकार स्थापना भएकै वर्ष तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न नगरपालिका समेटेर महानगर बनाउने घोषणा गरेका हुन् ।
त्यसपछिका मुख्यमन्त्रीहरूले पनि कहिले नीति तथा कार्यक्रममा यो विषयलाई राख्ने, कहिले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका बनाउने घोषणा गर्दै आएका छन् । रुपन्देहीबाटै प्रतिनिधिसभा सदस्य बनेका एमालेका प्रभावशाली नेता तथा पूर्व मन्त्री विष्णु पौडेलले पनि बुटवल, तिलोत्तमा हुँदै भैरहवा जोडेर महानगर निर्माण गर्नुपर्ने अभिव्यक्ति पटकपटक दिँदै आएका छन् ।
तर महानगर बनाउने घोषणा कार्यान्वयनका सम्बन्धमा अहिलेसम्म प्रगति शून्यजस्तै छ । अहिले लुम्बिनी प्रदेशमा ४ वटा उपमहानगरपालिका छन् । संघ सरकारले महानगरजस्तै मेघा सिटीको अवधारणा अघि सारेपछि अन्यौल बढेको प्रदेश सरकारका अधिकारीहरू बताउँछन् ।
महानगर बनाउने दिशामा प्रदेश सरकारले भित्री रूपमा केही काम गरेको लुम्बिनी प्रदेशका गृहमन्त्री एवं प्रवक्ता सन्तोष पाण्डेयको दाबी छ । उनले अहिले भएका उपमहानरपालिका जोडेर महानगरपालिका बनाउन अध्ययन तथा अनुसन्धान भइरहेको दाबी गरे ।
उनले भने, ‘विगतमा यो विषय प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गर्दा नै केही सम्भावना देखेर ल्याइएको हो, ती सम्भावना झन् बढेको अवस्था छ । त्यस कारण हामीले केही गर्नुपर्छ सोचमा छौँ ।’
तर यसमा प्रदेशमात्रै नभएर संघीय सरकारको सहकार्य पनि अपरिहार्य रहेको भन्दै उनले संघबाटै ठोस निर्णय आउन ढिलाइ भएको जिकिर गरे । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय पाल्पाको दोभानदेखि सिद्धार्थनगरको बेलहियासम्म जोडेर महानगर बनाउँदा त्यसबाट धेरै लाभ लिन सकिने बताउँछन् ।
उनले पाल्पाको दोभानबाट चिसो पानी र पहाडको उत्पादनलाई बेलहिया हुँदै सुनौलीबाट सहज भारत पु¥याउन सकिने र उताबाट बस्तुहरू सुनौली नाकाबाट सहज रूपमा ल्याउन सक्ने हुँदा धेरै लाभ हुने बताए ।
उता, नेपालगन्ज उपमहानगरपालिकाको नगर सभाबाट २०७८ सालमै महानगरमा स्तरोन्नतिको प्रस्ताव समेत पारित भएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले विगतमा महानगर बनाउने कुरा चले पनि पछिल्लो समय प्रदेश र संघले चासो नदिएकाले खासै प्रगति हुन नसकेको बताए ।
तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकालाई मिलाएर महानगर बनाउने चर्चासमेत चलेको थियो । तर अहिलेसम्म ठोस काम भएको छैन । तुलसीपुर उपमहानगरका मेयर टिकाराम खड्काले यस विषयमा धेरै पहिलेदेखि चर्चा चलेपछि ठोस काम नभएको बताए ।
उनले महानगर बनाउँदा विकास, नागरिकको अवसर वृद्धि लगायत धेरै सम्भावना रहने भए पनि यसलाई छिटो कार्यान्वयन गर्न संघीय, प्रदेश सरकारले अलि गम्भीर रूपमा चासो दिनुपर्ने बताए ।
अबको निर्वाचनमा महानगरपालिका निर्माण गरेर अगाडि जानुको विकल्प नभएको मेयर खड्काले बताए । यति धेरै आर्थिक गतिविधि हुने सहरमा सरकारले चासो नदिएका कारण महानगर बनाउने योजना साकार हुन नसकेको उनको भनाइ छ ।