बंगलादेशमा सोमबार दुई रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
बंगलादेशको किशोरगन्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिए ।
बन्दरगाह सहर चट्टोग्रामतर्फ गइरहेको कन्टेनर रेल दिउँसो करिब साढे ३ बजे ढाका गइरहेको एगरोसिन्धुर एक्सप्रेससँग ठोक्किएको थियो ।
“भग्नावशेषबाट अहिलेसम्म १५ वटा शव बाहिर निकालिएको छ,” सरकारले भने ।
उनका अनुसार दुर्घटनामा एगरोसिन्धुर एक्सप्रेसका कैयौँ डिब्बा पल्टँदा करिब १०० जना घाइते भएका छन् । उनले मृत्यु हुनेको संख्या अझै बढ्ने आशंका गरे ।








