देउखुरी ।
बिचमा छ तले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पूर्वीउत्तरतर्फ ९ वटा मन्त्रालयमा पाँच तले प्रशासनिक भवन एकैठाउँमा धमाधम निर्माण भइरहेका छन् । दाङको राप्ती उपत्यकाको देउखुरीमा सुविधा सम्पन्न भवन बन्दैछन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालयका भवन मध्ये ७ वटाको काम भइरहेको छ भने ३ वटाको सुरू हुनेक्रममा छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित अन्य मन्त्रीले बेलाबेलामा निर्माणाधीन भवनको अवलोकन गरिरहन्छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सेतो रंगको हुनेछ । अरु मन्त्रालय छानासहित नेपाली रातो र सेतो कलरमा रंगाइने छ ।
प्रदेश राजधानी निर्माण आयोजना कार्यान्यवन इकाइका इन्जिनियर एवं सूचना अधिकारी प्रदीप भट्टराइले निर्माणको काम भएका भवनको अहिलेसम्म ३० प्रतिशत भौतिक र साढे ८ प्रतिशत वित्तीय प्रगति भएको बताए ।
सबै मन्त्रालय एउटै मोडलमा निर्माण भइरहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ९६ कोठासहित ६ तले हुनेछ । त्यसमा प्रमुख सचिव कार्याकक्षसहित सानो मिटिङ हल र एउटा मल्टीप्रपोज हल बन्ने उनले बताए । दुईवटा लिफ्ट रहेनेछन् ।
९ वटा मन्त्रालयका भवन सबैमा ५४ कोठा हुनेछन् । त्यसमा एउटा बैठक कक्ष, मल्टीप्रपोज मिटिङ हल हुन्छन् । मुख्यमन्त्रीसहित १० वटा मन्त्रालयका भवनको अन्डरग्राउण्ड पार्किङको व्यवस्था रहेको छ । मन्त्रालयमा लिफ्टको व्यवस्था हुनेछ । भुइतला अपांग मैत्री र अरु तलमा लिफ्टसहित एचभीएसी सुविधा सम्पन्न कोठा हुनेछन् । सबै मन्त्रालय वरपर रुख र फूलबारी बनाइने छ ।
२०७९ मंसिर २८ गते सम्झौता भइ पुस १८ गतेबाट काम सुरू गरेको कम्पनीले ०८२ पुस १७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ ।
राजधानीका प्रशासनिक संरचनाभित्र ११ सय मिटर बाटोसहित आन्तरिक सडक सञ्जाल हुनेछ । यसले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सबै मन्त्रालयमा सहज सेवाको लागि यसरी संरचना र सडक सञ्जालले जोड्ने खोजिएको भट्टराइले बताए । सडकको चौडाई नाली र फुटपाथसहित १० मिटरको हुनेछ ।
सबै मन्त्रालय आउजाउ गर्न पैदल यात्रा, भुइँतला अपांग मैत्री र अरू तलमा लिफ्टको व्यवस्था रहने उनले बताए ।








