दाङ ।
राप्ती उपत्यकालाई लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरेपछि स्थानीय नारायण केसीले अर्घाखाँची सातमारामा सुविधासम्पन्न होटल सञ्चालन गरेका छन् । राजधानीले अवसरका ढोका खुलेको भन्दै उनले एक करोड रुपैयाँ लगानीमा आरामदायी १६ कोठा भएको सूर्य होटल सञ्चालन गरेको बताए ।
प्रदेश संसद् चलेका बेला सांसद होटल बुकिङ गरेरै बस्छन् । देउखुरीदेखि भालुवाङ नजिकैको सातमारा र भालुवाङ ६ किलोमिटर दूरीमा छ । सांसद, कर्मचारी, प्रदेशमा योजना माग्न आउने जनप्रतिनिधि, दलका नेतालगायतले होटलमा बस्ने, भोजन गर्ने उनले बताए ।
‘राजधानीले गर्दा सांसद, कर्मचारीसहित दलका नेताले खाना, खाजा र कोठा बुकिङ गरेर बस्दा बिजनेस बढेकै छ,’ उनले भने, ‘राजधानी तोक्नुअघि सांसद, नेता र कर्मचारी हाम्रा ग्राहक थिएनन् ।’ मन्त्रालयमा काम लिएर राजधानी आउजाउ गर्नेले व्यवसायको रौनक बढाइदिएका छन् । यहाँ बस्नलाई शीतल हावापानी, दाङको भालुवाङ र अर्घाखाँची सातमारा बीचमा राप्ती नदी दुवैतिरका अग्ला पहाडमा हरियाली सुन्दर दृश्य भएकाले यो स्थान बस्नेखानेको रोजाइमा पर्ने उनले बताए ।
‘होटलमा आएका पाहुना तथा पर्यटकलाई राप्ती नदी, राप्ती पुल, जंगलसहितको दृश्यले मोहित बनाउँछ । यहाँ पर्यटकको पहिलो रोजाई राप्ती पुलमा तस्बिर खिच्ने र टिकटक बनाउने हुन्छ,’ केसीले भने, ‘सामाजिक सञ्जालमा राखिने तस्बिर र भिडियोले यस क्षेत्रको आकर्षण बढाएको छ ।’ सरकारी गाडी चढ्नेले पनि रोकेरै तस्बिर खिच्छन्, त्यसैले यहाँको महत्त्व बढ्दै गएको उनको ठम्याइ छ ।
भालुवाङ पहिलेदेखि नै यस क्षेत्रको व्यापारिक बजार हो । पहिलेदेखि चहलपहल हुने यस स्थानमा सांसद, दलका नेता/कार्यकर्ता, सरोकारवाला, कर्मचारी ग्राहकका रूपमा थपिएकाले राजधानी आएपछि व्यवसाय बढेको व्यापारी बताउँछन् । राजधानी उपत्यकाअन्तर्गत राप्ती गाउँपालिकाका ९ वटै वडा, गढवा गाउँपालिकाको १, २ र ३ सहित अर्घाखाँचीको शीतगंगा नगरपालिका ८ र ९ वडाको क्षेत्रफल पर्छ । राप्ती उपत्यकालाई आधुनिक सहरका रूपमा विकास गर्ने भन्दै ३६ महिनादेखि प्रदेश सरकारले जग्गा रोक्का गरी राखेको छ ।
लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले आधुनिक सहरका लागि अध्ययनसहितको कामको प्रक्रिया अघि बढाएको जनाएको छ । केही युवा व्यवसायी आधुनिक सहर निर्माणपछि ठूला होटल खोल्ने योजनामा छन् । आधुनिक सहर विकासमा सम्भावनाका ढोका खुलेको भन्दै यस क्षेत्रका व्यवसायी र स्थानीय उत्साहित छन् ।