गृहपृष्ठ Featured नेपाललाई १० वर्षपछि टी-२० विश्वकप खेल्न आएको यो अवसर

नेपाललाई १० वर्षपछि टी-२० विश्वकप खेल्न आएको यो अवसर

प्रकाशित मिति:

नेपालले सन् २०१४ को आइसिसी टी-२० विश्वकप खेलेको थियो। सन् २०१३ मा भएको छनोट पार गरेर पहिलो पटक विश्वकप खेलेपछि नेपालमा क्रिकेटको उचाइ ह्वात्तै बढेको थियो।

त्यसयता भने नेपाल विश्वकपमा छनोट हुन सकेको छैन। लगातार तीन पटक विश्व छनोटमा असफल भएको नेपालले भोलि (सोमबार) देखि काठमाडौंमा सुरू हुने आइसिसी टी-२० विश्वकप २०२४ का लागि एसिया छनोट खेल्दैछ। नेपाल चौथो प्रयासमा टी-२० विश्वकपमा फर्कने योजनामा छ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसहित सिंगापुर, मलेसिया र ओमान छन्।

अर्को समूहमा युएई, हङकङ, बहराइन र कुवेत छन्। खेलहरू कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा कात्तिक १३ देखि १९ गतेसम्म चल्नेछ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने दुवै टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।

समूहमा नेपाल र ओमान एकदिवसीय मान्यता प्राप्त टिम हुन्। तुलनात्मक रूपमा नेपाललाई समूहमा ओमान बलियो प्रतिद्वन्द्वी हो। तर टी-२० मा कुनै पनि टिमलाई कमजोर आँक्ने गल्ती नगर्ने नेपालका कप्तान रोहितकुमार पौडेल र प्रशिक्षक मोन्टी देसाइको भनाइ छ।

अर्को समूहमा विश्वकप खेलिसकेका युएई र हङकङ विश्वकप खेलिसकेका टिम हुन्। समूह चरणमा अपेक्षाकृत प्रदर्शन गरेमा नेपालले सेमिफाइनलमा युएई वा हङकङको सामना गर्न सक्ने आकलन छ। तर कुवेत र बहराइनले पनि उपक्षेत्रीय छनोट पार परेर अन्तिम छनोटमा स्थान पक्का गरेकाले उनीहरूलाई कमजोर आँक्न मिल्दैन। सेमिफाइनल पुगेर अर्को समूहबाट छनोट भएको टिमलाई पराजित गरे नेपाल १० वर्षपछि टी-२० विश्वकपमा पुग्नेछ।

१० वर्षपछि विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको नेपालका हालका अधिकांश खेलाडी सन् २०१४ को विश्वकप हेरेर क्रिकेटमा आकर्षित भएको कप्तान पौडेल बताउँछन्। घरेलु मैदानमा विश्वकप छनोट खेल्न पाउनु नेपालका लागि सुनौलो अवसर भएको उनले बताए।

‘हाल हाम्रो टिममा रहेका अधिकांश खेलाडीले सन् २०१४ को टी-२० विश्वकपमा नेपालले खेलेको हेरेका थिए। अहिले फेरि हाम्रो सामू विश्वकपमा छनोट हुने अवसर छ। त्यसका लागि हामी सबै खेलाडी उत्साहित छौं,’ कप्तान पौडेलले विश्वकप छनोटको पूर्वसान्ध्यामा भने।

सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेका खेलाडीमध्ये सोमपाल कामी मात्र अहिले नेपाली टिममा छन्।

कप्तान पौडेलले घरेलु मैदानमा खेल हुने भएकाले पनि नेपाली टिम उत्साहित भएको बताए।

टी-२० विश्वकप छनोटअघि नेपालले घरेलु मैदानमा युएई र हङकङसँग त्रिकोणात्मक टी-२० सिरिज खेलेको थियो। सिरिजको लिग चरणमा चारै खेल जितेको नेपाल फाइनलमा भने युएईसँग पराजित भएको थियो।

युएईसँग फाइनलमा पराजित भएपछि आफ्नो कमजोरी सुधार गर्न मौका मिलेको कप्तान पौडेलको भनाइ छ।

नेपालको खेल 

नेपाल भर्सेस सिंगापुर– कात्तिक १३- त्रिवि मैदान – विहान ९ बजे
नेपाल भर्सेस मलेसिया –  कात्तिक १४ – त्रिवि मैदान – दिउँसो १:१५ बजे
नेपाल भर्सेस ओमान – कात्तिक १६ – त्रिवि मैदान – विहान ९ बजे
सेमिफाइनल १ (त्रिवि मैदान), सेमिफाइनल २ (मुलपानी) – कात्तिक १७ –  विहान ११ बजे
फाइनल – कात्तिक १९- त्रिवि मैदान – विहान ११ बजे

नेपाली टिम

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी।

सम्बन्धित् समाचार