सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.४ सिद्धिपुरमा अवस्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा रहेको पिस हिमालयन रिसोर्टमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगाको विकास र समृद्धिमा सहकारीको महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको नगरप्रमुख अर्यालले नगरभित्र हाल ५ दर्जन सहकारीहरु रहेको बताउँदै भने, ‘सहकारीको नगरपालिकाले प्रभावकारी रुपमा अनुगमन गरिरहेको छ ।’
अनुगमन नियमनका क्रममा आवश्यक व्यवस्थापन नभएका सहकारीलाई नगरपालिकाले खारेजी प्रक्रियामा लगेको उनले बताए । सहकारीहरुले वित्तीय परिचालनको ठूलो हिस्सा ओगटेको उनले बताए । उनले साना साना छरिएर रहेका बचतलाई एकिकृत गरेर विभिन्न व्यवसाय, उद्योग धन्दा संचालन गरेको बताए ।
लुम्बिनी प्रदेश सहकारी लेखा प्ररिक्षण समितिका संयोजक तेज प्रसाद आचार्यले सहकारीले बचतकर्ताको विश्वास जित्नुपर्ने बताए । उनले स्थानीय स्तरका सहकारीभन्दा बाहिरबाट आएका सहकारीलाई तत्कालै विश्वास गरेर पैसा बचत गर्दा बचतकर्ताको करोडौं रकम ठगेर भागेको उनले स्मरण गरे । उनले त्यसतर्फ सबैलाई सचेत हुन आग्रह समेत गरे । सहकारीका सदस्यहरुलाई केन्द्रविन्दुमा राखेर योजना बनाउनुपर्ने उनको भनाई छ ।

सहकारीका अध्यक्ष शालिकराम भुसालले हालसम्म सहकारीमा ७ सय १६ जना शेयर सदस्य रहेको जानकारी दिए । गत आर्थिक बर्षमा कुल ८ करोड ६२ लाख ५१ हजार ३१४ रुपैयाँको कारोबार भएको बताए । उनले मुलुकको समग्र विकासमा सहकारीको महत्वपुर्ण भूमिका रहेको दाबी गरे ।
कार्यक्रममा सहकारीका सचिव शालिकराम आचार्यले आर्थिक बर्ष २०७९/८० को प्रगति विवरण र आर्थिक बर्ष २०८०/८१ को निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष नवराज पन्थले आर्थिक बर्ष २०७९/८० को आयव्यय प्रस्तुत गरेका थिए । यस्तै आन्तरिक लेखा सुपरिवेक्षणको तर्फबाट लेखा संयोजक नमुना पौडेलले मन्तव्य राखेकी थिईन् ।
संस्थाका अध्यक्ष शालिकराम भुसालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव शालिकराम आचार्यले गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी, वृद्ध, एकल महिला, विधार्थी लागयतलाई सम्मान गरिएको म्यानेजर कृष्ण बन्जाडेले बताए ।








