काठमाडौं ।
इंग्लिस प्रिमियर लिगमा चेल्सीले लन्डन डर्बी टोटनह्यामलाई ४–१ गोल अन्तरले हराएको छ। १० खेलाडीमा समेटिएको टोटनह्यामलाई चेल्सीले सहजै पराजित गरेको हो।
टोटेनहमको घरेलु मैदानमा भएको खेलमा कुलुसेभ्सकीले टिमलाई अग्रता दिलाएका थिए। पापे मटर सारको पासमा कुलुसेभ्स्कीले छैटौं मिनेटमा नै अग्रता बनाए। तर खेलको २१ औं मिनेटमा चेल्सीका लागि रहिम स्टार्लिङले गरेको गोल भीएआरले रद्द गरिदिएको थियो।
खेलको ३३ औं मिनेटमा टोटनह्यामका रोमोरोले रातो कार्ड व्यहोरेपछि टोटनह्याम झन् दबाबमा आएको थियो। त्यसपछि पाएको पेनाल्टीमा कोल पाल्मरले गोल गरे। यससँगै पहिलो हाफमा खेल एक–एकको बराबरी भएको थियो।
दोस्रो हाफको ५५ औं मिनेटमा पनि घरेलु टिमका डेस्टिनी उडोगीले रेड कार्ड पाएपछि टोटनह्याम नौ खेलाडीमा समेटियो। दोस्रो हाफको ७५ औं मिनेट र इन्ज्युरी समयमा दुईसहित निकोलस ज्याकसनले तीन गोल गरे।
यससँगै चेल्सीले खेलमा पुनरागमन जित दर्ता गरेको हो। यो जितसँगै चेल्सीले ११ खेलबाट १५ अंक बनाएको छ। र, १० औं स्थानमा उक्लिएको छ।
पराजित टोटनह्याम दोस्रो स्थानमा छ।








