गृहपृष्ठ Featured अवैध विकल्पको प्रयोग गर्दै टिकटक चलाउने बढे

अवैध विकल्पको प्रयोग गर्दै टिकटक चलाउने बढे

प्रकाशित मिति:

पछिल्लो समय लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकलाई सरकारले प्रतिबन्ध गरे पनि अवैध विकल्पको प्रयोग गर्दै टिकटक चलाउने क्रम बढेको छ । टिकटक प्रयोगकर्ताले भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) तथा डिएनएसजस्ता विकल्प प्रयोग गरी टिकटक चलाउन थालेका हुन् ।

समाजमा सांस्कृतिक विकृति भित्र्याएको भन्दै मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम गत २७ कात्तिकदेखि टिकटक बन्द गरेको हो ।

सरकारले पूर्वसूचना र तयारीविना टिकटक बन्द गर्दा प्रयोगकर्तामा आतंक मच्चिएको कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान फेडेरेसनका महासचिव एवं साइबर सुरक्षाविज्ञ चिरञ्जीवी अधिकारीले बताए । उनका अनुसार अचानक प्रतिबन्ध लगाउँदा टिकटक प्रयोगकर्ता अहिले उकुसमुकुसको अवस्थामा छन् । प्रयोगकर्ताले कहाँबाट कसरी टिकटक चलाउन सकिन्छ भनेर विभिन्न विकल्पको खोजी गर्न थालेका छन् ।

‘मानिसहरू कसरी टिकटक चलाउने भनेर विभिन्न उपाय खोजिरहेका छन् । यो एक किसिमको डिजिटल प्रभाव हो,’ उनले भने । फलस्वरूप मानिसहरूले अवैध प्रक्रिया भिपिएन (भर्चुअल पोइन्ट नेटवर्क)को प्रयोग गरेर भए पनि टिकटक चलाउन थालेको उनले बताए । उनका अनुसार करिब दुई लाखले भिपिएनमार्फत टिकटक चलाएका छन् ।

सरकारको निर्णयबमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिएको थियो । प्राधिकरणको निर्देशनबमोजिम अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक बन्द गरिसकेका छन् । तर, अझै पनि केही मोबाइलमा भने टिकटक चलिरहेको छ । अर्थात्, अझै केही इन्टरनेट सेवा प्रदायकले टिकटक बन्द गर्न नसकेको अधिकारीको भनाइ छ ।

सरकारले तयारीविनै बन्द गर्दा यस्तो खालको त्रुटि भएको उनले बताए । ‘प्रविधिलाई चलाउन जति खर्च र मिहिनेत लाग्छ, त्यति नै यसलाई निस्तेज पार्न पनि लाग्छ,’ उनले भने । तर, यस विषयमा सरकारले कुनै पनि तयारी नगरेको उनले दाबी गरे । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने भिपिएनको प्रयोग गरी चलाइएका टिकटकलाई नियमन गर्न नसकिने बताए । भिपिएन नियमनका लागि नेपाल सरकारसँग कानुन छैन । कानुनविना आजको भोलि नै सबै कुरा बन्द गर्न नसकिने उनको भनाइ छ ।

सम्बन्धित् समाचार