पक्राउ गरेर ल्याउने क्रममा भाग्न खोज्दा दुवै जनालाई प्रहरीले खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । त्यही खुसीमा दुई दिनपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोज आयोजन भयो ।
भोज खाएर फर्केका असई बच्चा यादव चौकीमा पुगेर रमाइलो गर्न थाले । उनी पेस्तोल खेलाउँदै उनले रमाइलो गरिरहेका बेला पेस्तोल पड्किएको हो । पेस्तोलको गोली जवान राजेशकुमार साहको एक पाखुरामा लागेको छ ।
घटना ढाकछोप गर्न असईले यादवले प्रहरी जवान साहलाई उपचारका लागि भारततिर पठाएका थिए । भारतमा उपचार गराउन जाँदा भारतीय प्रहरीले गोली लागेको थाहा पाएपछि सप्तरी प्रहरीलाई फोन गरेर यस विषयमा जानकारी गरायो ।
घाइते प्रहरी जवानको ठेगाना सप्तरी भएकोले भारतको प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई खबर गरेको हो । त्यसपछि घटना बाहिरिएको हो ।
घटनाबारे शुक्रबार जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरी तनावमा छ । थाहा पाएलगत्तै प्रहरी चौकीको इन्चाजबाट असई यादवलाई हटाएर जिल्ला तानिएको छ ।
जाँचबुझको लागि उनलाई जिल्लामा बोलाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले बताए ।
महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले घटनाको प्रारम्भिक जानकारी आएकोले बुझिरहेको बताए ।
‘घटना भएको हो कि होइन भन्ने हामी अनुसन्धान गर्दैछौं । सानो छानबिन टोली गठन गरी छानबिन गरिसकेपछि यो विषयमा भनौला । यो आन्तरिक घटना हो । अहिले यो विषयमा भन्न मिल्दैन,’ उनले भने ।
स्रोतका अनुसार असई यादवले भने चेन्जर सफा गर्ने क्रममा पेस्तोल पड्केर पोलमा लागी फर्किएर प्रहरी जवानलाई लागेको दाबी गरेका छन् ।