सागर वि.क., वैखरी अनलाईन ।
१४ औं कपिलवस्तु महोत्सवका निर्देशक तथा बाणगंगा वेयलफेयर सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाहा क्षेत्री ‘दिनेश’ ले कपिलवस्तु महोत्सवलाई जिल्लाकै शानका रुपमा प्रस्तुत गर्ने बताएका छन् ।
महोत्सव विगतदेखि नै कपिलवस्तुको प्रतिष्ठा भएको बताउँदै निर्देशक क्षेत्रीले यस्तो बताएका हुन् । विगतका महोत्सवमा रहदैं आएका बालउद्यान, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, खानाका परिकार लगायतलाई निरन्तरता दिदैं केही नयाँपन दिने गरि काम भएको बताए । ‘महोत्सवको मूल प्रवेशद्धार मुक्तिनाथ मन्दिरको झझल्को आउने गरि निर्माण गरेका छौं । सचिवालय पनि मायादेवी मन्दिरको स्वरुपमा बनाउन लागेका छौं,’ उनले भने ।
विगतको महोत्सवमा हेलिकप्टर ल्याएको स्मरण गर्दै उनले यस पटक अन्तरराष्ट्रिय स्तरको २ दिने रेस्लिङ्ग प्रतियोगिता हुने बताए । उनले महोत्सवमा वक्तत्वकलादेखि उत्कृष्ट कृषकलाई सम्मान समेत गरिने बताए । स्थानीय उत्पादनलाई प्रवर्धन गर्न केहीलाई निशुल्क स्टल उपलब्ध गराएको बताउँदै उनले भने, ‘यस क्षेत्रका व्यवसायीलाई विशेष छुटका साथ ठाउँ दिएका छौं ।’
उनले यस क्षेत्रका सरोकारवालाहरुसंग विभिन्न चरणमा महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउने रणनिति तय गर्न अन्तरक्रिया गरिरहेको बताए । उनले महोत्सवबाट यस क्षेत्रको आर्थिक चलायमान हुने विश्वास व्यक्त गरे । उनले करिब डेढ लाख दर्शक भित्राएर करिब ५ करोडको आर्थिक करोबार गर्ने आफुहरुको लक्ष्य रहेको सुनाए ।
उनले महोत्सव स्थलमा शान्ति सुरक्षा र खानेपानीको राम्रो प्रबन्ध गरिएको बताए । उनले शान्ति सुरक्षाका लागी प्रहरी, ट्राफिक, सेक्युरिटीसंगै सयौंको संख्यामा स्वयम्सेवकहरु र सिसिटिभि क्यामेरा र ड्रोन परिचालन गरिने उनले जानकारी दिए । उनले हालसम्म समग्रमा ७० प्रतिशत काम सकिएको बताउँदै उद्घाटन मिति अगावै शतप्रतिशत काम सम्पन्न हुने बताए ।
उनले महोत्सवको उद्घाटन गर्न नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी आउने जानकारी दिए ।
महोत्सवमा चर्चित गायक गायिकाहरु प्रमोद खरेल, रमेशराज भट्टाराई अस्मिता अधिकारी, रचना रिमाल, शान्तिश्री परियार, रामजी खाँण, पुस्कल शर्मा, श्याम राना, टंक तिमिल्सिना लगायतका राष्ट्रियसंगै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने बताए । उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।








