सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा ११ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । नगरपालिकाका ११ वटै वडाबाट एक/एक जना गरि ११ जना महिला स्वयंसेविकालाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।

उनीहरुलाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको हो । नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी र प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले संयुक्त रुपमा ११ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेका हुन् ।
बाणगंगा नगरपालिकामा जम्मा ११२ जना स्वास्थ्य स्वयम्सेवीका छन् । उनीहरुको कार्य शैलीलाई मूल्याङ्कन गरि सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।

नगरप्रमुख चक्रपाणी अर्यालले महिला स्वास्थ्य स्वयम्सेवीकाको नगरले उच्च मूल्याङ्कन गरेको बताए । स्वयम्सेवीकालाई नगरले विगतदेखि नै प्रोत्साहन स्वरुप विभिन्न काम गर्दै आएको बताउँदै उनले भने, ‘सिमित स्रोत र साधनले गर्दा चाहे जति गर्न सकिएको छैन् ।’ उनले विभिन्न महामारीकाको नियन्त्रणदेखि खोप कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न स्वास्थ्य स्वयम्सेवीकाकाले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए ।
स्वास्थ्य स्वयम्सेवीकाकालाई नगरपालिकाले पारिवारिक सदस्यको रुपमा सम्झने गरेको उनको भनाई छ ।
उपप्रमुख रिता कुमारी चौधरीले महिला स्वास्थ्य स्वयम्सेवीकाका विना स्वास्थ्य बाणगंगा नगरपालिका स्थापित गर्न नसकिने बताईन् । उनले नगरमा स्वास्थ्य स्वयम्सेवीकाको लागी कोष स्थापना गरेको बताईन् । उनले यो बर्ष बाणगंगाका कोही पनि जनप्रतिनिधि भ्रमणमा नजाने बताईन् । उनले स्वास्थ्य स्वयम्सेवीकाकालाई अवलोकन भ्रमणका लागी आगामी आर्थिक बर्षमा रकम विनियोजन गर्ने योजना रहेको सुनाईन् ।
प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले दिवसको शुभकामना दिदैं बाणगंगाका स्वास्थ्य स्वयम्सेवीकाकाको काम प्रशंसनीय रहेको बताए । उनले स्वास्थ्य स्वयम्सेवीका भईसकेपछि गाउँघरका अन्यको भन्दा स्वास्थ्यका सवालमा जीवनशैली बद्लिएको बताए ।
आज कपिलवस्तुसहित देशभर ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेवीकाको संयुक्त प्रयास’ भन्ने मूल नाराका साथ मनाईएको छ ।








