काठमाण्डाै ।
रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला आउँदो फागुनदेखि सञ्चालनमा आउने भएको छ ।
तिलोत्तमा नगरपालिकामा निर्माणाधीन क्रिकेट रङ्गशाला फागुन १ गतेदेखि प्रतियोगिता खेलाउनका लागि तयार हुने भएको हो । यो रङ्गशाला अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आईटी कम्पनीले निर्माण गरिरहेको छ ।
आज बिहीवार भएको पत्रकार सम्मेलनमा एक्स्ट्राटेक ओभल प्रालीका निर्देशक विनोद कुँवरले निर्माणाधीन क्रिकेट रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताउनुभयो । उहाँले मैदानमा सात वटा पिच रहेको र फागुन १ गतेदेखि प्रतियोगिताका लागि योग्य हुने बताउनुभयाे ।
रङ्गशलामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुम निर्माणको काम आउँदाे माघदेखि शुरु गर्ने पनि निर्देशक कुँवरले बताउनुभयो । सबै रुमकाे काम आउँदाे वैशाखसम्म सकिसक्ने उहाँले बताउनुभयो । रङ्गशालामा तत्कालका लागि दर्शक सिट पाँच हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने ठाउँ बनाइने उहाँकाे भनाइ छ । आउँदाे दशैँसम्ममा रङ्गशाको सबै काम पूरा हुने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
रङ्गशाला आउँदाे वैशाखसम्ममा निर्माण सक्ने लक्ष्य राखिएको थियो । क्रिकेट रङ्गशालाको ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । अहिलेसम्म पाँच करोड रुपैयाँ खर्च भएको निर्माण कम्पनीले जनाएको छ ।








