पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीको करिब डेढ अर्ब रुपैयाँ हिनामिना गरेको अभियोगमा फरार सोही सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहितको समूहले सुप्रिम बचत तथा ऋण सहकारीको पनि १ अर्ब १५ करोड अपचलन गरेको पाईएको छ ।
बुटवल केन्द्रिय कार्यालय रहेको यस सहकारीको कपिलवस्तुको चारनम्बर जीतपुर र भैरहवामा शाखा रहेका थिए । जुन सहकारी विगत १ बर्षदेखि बन्द अवस्थामा छ ।
उक्त समूहविरुद्ध डिफ्युजन नोटिस जारी गर्न कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयलाई आग्रह गरिसकेको छ । राईसहित पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर तथा पूर्वसञ्चालक समिति सदस्य महेन्द्र भोटे भनिने शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न लागिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा आरोपित चारै जनाविरुद्ध इन्टरपोलमार्फत खोजी गर्ने गरी डिफ्युजन नोटिसका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । सहकारीका करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले अनुसन्धान अघि बढाएसँगै राई फरार छन् ।