तिलोत्तमा ।
रुपन्देहीको सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशालामा आगामी पुष २७ गतेदेखि हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको छ । खेल खेलाउनका लागि ५ वटा पिच रहेको रंगशालाको मैदानमा थप एक पिच निर्माण गरिएको छ । सबै पिचको मर्मतसम्भार, जाली फेर्ने साथै रंगरोगनको काम भइरहेको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले बताए ।
‘हामीले मैदानमा दुबो हरियो बनाउनुका साथै पिच रोलको कामलाई बढी ध्यान दिएका छौं,’ उनले भने, ‘साइट सिइङ एरिया तथा टिमले अभ्यास गर्न पाउने गरी एकेडेमिक पिच समेत तयार गर्दैछौं ।’ झन्डै ३ विघा क्षेत्रफलमा फैलिएको मैदानमा बालुवा राख्नुपर्ने खाल्डाखुल्डी सम्याउन पानी लगाउने साथै पलाएका घाँस काटेर मैदान नरम बनाउने काम पनि भइरहेको उनले जानकारी दिए ।
मैदान मर्मत तथा हरियाली बनाउनका लागि ३ लाख रुपैयाँ आसपासको बजेट खर्च हुने भन्दै उनले राष्ट्रिय खेलकुद परिषद अन्तर्गतको खेल नेपाल क्रिकेट संघ (क्यान) मार्फत सिद्धार्थ रंगशालाले समेत पाउनु गर्वको विषय भएको बताए ।
७ वटा प्रादेशिक टिम सहित ३ विभागीय टीम गरी १० टिमबीच सञ्चालन हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यसवर्ष राउण्ड रोबिन लिगको आधारमा सञ्चालन गरिनेछ । लिग चरणको ८ देखि १० खेल भैरहवा क्रिकेट मैदानमा सञ्चालन गर्ने गरी कार्यक्रम तय गरिएको अध्यक्ष थापाले जानकारी दिए ।








