भौतारिएँ, अवसरको खोजीमा कति अतालिएँ
सामन्तवादीको गोजीको जागिर
सर्वहारा वर्गको रोटीको
आधार होइन रहेछ
भनेर चाल पाएँ।
मातृभूमिमै नङ्ग्रा खियाउने
आशा
निराशामा मडारिएपछि
मानो जुटाउने र ऋणको पासो
फुकाउने
विवशताले च्यापेपछि
बाँच्न र बँचाउनकै निम्ति
परदेशिनुको कुण्ठा बोकेर
हिँड्ने युवालाई
हान् , सकेसम्म गोली हान्
एक एक गरेर हान्
सबैलाई मार्नु नै त तेरो लक्ष्य
हो
मार्न त सबैलाई जिउँदै मारेकै छस्
नुन चुक छरेर मार्
पेटमा लात हानेर मार्
अनि पो तँलाई शान्ति मिल्छ।
नेपाली माटोलाई फाटेको
झोलामा पोको पारेर
दिनहुँ त्यहीँ माटोको टीका
लगाउँदै
सास धान्न चाहने बबुराको
सासले विश्राम त आफ्नै
माटोमा पाएको छ नि
हो,
मलाई गाडेको ठाउँमा एउटा
बिरुवा मौलाउला
त्यसलाई पनि लुछिचुँडी पक्कै
खानेछौ
परदेशमा खुन बेचेर तेरो
मोजमस्तीको आधार बन्नुभन्दा
मातृभूमिमै रगत पोतेका छौँ।
तर,ए यमराजको दूत
मेरो परिवारलाई पनि एक
एक गरेर मारि दे
अनि मात्र तेरो सपना साकार
हुनेछ
तर, मेरो आत्माले भने
पुनः कृण्णको जन्मपछि मात्र
शान्ति पाउनेछ ।
-अम्बिका अर्याल ‘कपिलवस्तु’








